Image description

काठमाडौँ । सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारका विषयमा छानबिन गरिरहेका प्रहरी अधिकारीको सरुवा गरेर भ्रष्टाचारका फाइल खोलेर टुङ्गोमा नपुग्ने गरी बन्द गर्न लागेकामा आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको साेमबारकाे बैठकमा विशेष समयमा उहाँले सुन काण्डमा गठन हुने उच्चस्तरीय आयोगले प्रतिवेदन संसद्मै पेस गर्ने व्यवस्था गर्न माग गर्नुभयो ।

सरकारलाई प्रतिवेदन पेस गर्ने गरी आयोग गठन गरिएमा यसअघिका आयोगकै हालत हुने भएकाले संसद्मा पेस गरी छलफल र सार्वजनिक गर्ने व्यवस्था गर्न सांसद केसीले माग गर्नुभएको हो ।

साम्प्रदायिक दङ्गा मच्चाउन खोज्नेका विरुद्ध सरकारको मौनताका कारण बुझ्न नसकिएको उल्लेख गर्नुहुँदै उहाँले दूरसञ्चारका ग्राहक बढ्ने तर राजस्व घट्ने कारणको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल टेलिकम र एनसेल दुवैको ग्राहक बढ्दा राजस्व भने घटेकाले सरकार र सञ्चार मन्त्रालयले यसको छानबिन गर्नुपर्ने सांसद केसीको माग छ । पासाल्हामु राजमार्गको काठमाडौँबाट नुवाकोटको पीपलटार खण्डको बजेट कटौती गरिएकोप्रति उहाँले आपत्ति जनाउनुभयो ।

सांसद विद्या भट्टराईले दैनिक उपभोग्य सामानको मूल्यवृद्धि हुँदा पनि सरकार मूकदर्शक बनेको, लैङ्गिक हिंसाले आत्महत्याका घटना बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रजनन उमेरमा महिलाको आत्महत्याको दर बढेकाले विद्यालयतहको पाठ्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी पाठ्यक्रम राख्न र यसलाई प्राथमिकता दिएर काम गर्न उहाँले माग गर्नुभयो ।

सांसद माधव सापकोटाले तातोपानी नाकाको लिपिङ बजारस्थित सरकारी कार्यालयको जग्गा निजीरुपमा कब्जा गरिएकाले तत्काल व्यवस्थापन गर्न माग गर्नुभयो ।

तत्काल यसको व्यवस्थापन नगरिएमा पछि यो ठूलो समस्या हुने भएकोतर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मानसरोवर तीर्थयात्रा गर्ने धार्मिक पर्यटकका लागि तातोपानी नाका अन्य नाकाभन्दा तीन दिन नजिकपर्ने भएकाले पनि यहाँ सरकारले प्राथमिकता दिनुपर्ने सांसद सापकोटाको भनाइ थियो ।

सांसद हरि ढकालले क्रिकेट खेलाडीलाई तलबको व्यवस्था गर्नुपर्ने भन्दै खेल पूर्वाधारको विकासका लागि खेलजगतलाई उपेक्षा गर्न नहुनेमा जोड दिनुभयो ।

प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई दिने भनी घोषणा गरेका रकम अझै नदिएकाले त्यसतर्फ पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसद राजेन्द्रप्रसाद लिङ्देनले वैदेशिक रोजगारीमा जानेले विमानस्थलदेखि नै अपमान भोग्नुपर्ने र फर्कंदा पनि उस्तै हुने गरेकाले सुधार गर्न माग गर्नुभयो ।

सांसद शेरबहादुर कुँवरले अछामको वैद्यनाथ तीर्थलाई व्यवस्थित बनाइनुपर्नेमा जोड दिनुभयो । संसद्ले पारित गरेको बजेट कटौती गरिनु नहुने उहाँको भनाइ थियो ।

सांसद प्रेम सुवालले खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्नुभयो ।

सांसद प्रभु साह र अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमणमा जन्तीको झल्को दिने गरी उच्च अधिकारीको लर्को जानुपर्ने कारण के हो भनी प्रश्न गर्नुभयो ।

विगतमा भारत भ्रमण आगामी अमेरिका भ्रमणमा पनि उच्च अधिकारीको लर्को जानुको कारण सांसदहरुले माग गर्नुभएको थियो ।

सांसद सञ्जयकुमार गौतमले कृषि प्रधान देश नेपाल कृषिमा आत्मनिर्भर नहुनु हाँस्यास्पद भएको बताउनुभयो ।

कृषि, धर्म, संस्कृति र पर्यटन क्षेत्रमा नेपाललाई चुनौती दिनसक्ने देश विश्वमा नभएपनि लापरबाहीले समस्या भएको उहाँको भनाइ थियो ।

नेपालका पवित्र तीर्थस्थलका रुपमा रहेका धार्मिक क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने, पर्वतीय पर्यटनलाई पनि प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।