Image description

काठमाडौँ । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जिइएफ)को सातौँ विश्व सम्मेलनको प्लेनरी सेसनले नेपालका अर्थमन्त्री डा प्रकाशशरण महतलाई उपाध्यक्ष पदमा निर्वाचित गरेको छ । 

 शुक्रबार एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित हुनुभएको उहाँको सचिवालयले जनाएको छ ।

यस अगाडि उहाँले विश्ववातावरण कोषको एसेम्वली बैठकलाई  सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह भइरहेको बताउनुभयो ।

मन्त्री डा महतले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसङ्ख्याका लागि पानीको श्रोत रहेको बिषय विश्व समुदायको  ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी नेपालले जैविक विविधताको संरक्षणमा इमान्दार प्रयत्न गरिरहेको साथै दुर्लभ तथा सङ्कटापन्न जङ्गली जनावर तथा प्रजातिको संरक्षण गरेको र सोको नतिजास्वरुप बाघ तथा गैँडाको सङ्ख्यामा उल्लेख्यरूपमा वृद्धि भएको उहाँले बताउनुभयो ।

उहाँले नेपालको तापक्रम सन् २०३० सम्ममा सुन्ना दशमलव पाँचदेखि दुई डिग्री सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा ५० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक रहेकोतर्फ सहभागी मुलुकको ध्यानाकर्षण गराउनुभयो ।

अर्थमन्त्री डा महतले जलवायु वित्तबाट सञ्चालित कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै यसै एसेम्वलीबाट अनुमोदित विश्व जैविक विविधताको खाका तथा कोषलगायतको स्रोत अति प्रभावित मुलुकमा केन्द्रित गर्न अनुरोध गर्नुभयो ।

उहाँले जबसम्म एकीकृत र समुच्चरुपमा कार्यान्वयन गरिँदैन तबसम्म कोषको आकार मात्र बढाएर खासै प्रभावकारी नहुने धारणा व्यक्त गर्नुभयो ।

जलवायु परिवर्तनको जोखिम उच्च भएका देशकोसमेत प्रतिनिधित्व गर्दै लगानी आयोजनाको गुणस्तर बढाउन स्थानीय जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेगरी कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।