logo
बिहीबार, २ आश्विन २०८२

 वार्तामा बस्न र विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह

 वार्तामा बस्न र विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई आह्वान गर्नुभएको छ ।

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको सोमवार कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ । ऐन ल्याउन भनेर यत्रा शिक्षकहरू सकडमा आन्दोलनमा आउनु पर्दैन । कृपया जानूस्, विद्यालयमा गएर विद्यार्थी भर्ना गराउनूस् । एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनूस् । गुणस्तरीय शिक्षाका लागि लाग्नूस् ।”

“शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ, शिक्षकहरूलाई लाभ छैन । त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नूस् । प्रतिगामी तत्वहरू सल्बलाएका बेला तपाईंहरुले आन्दोलन गर्ने उपयुक्त समय पनि यो होइन”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

समृद्धि र अग्रताका लागि बौद्धिक सक्रियता देखाउन आग्रह

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसङ्गतियुक्त प्रवृत्तिहरूविरुद्ध प्राध्यापकहरुले बौद्धिक रूपमा सक्रियता देखाउनुपर्ने बताउनुभयो ।

मुलुकमा प्रकट भइरहेका प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसङ्गतियुक्त प्रवृत्तिहरूप्रति सजग हुँदै आफ्नो बौद्धिक क्षेत्रबाट विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ विचार निर्माणमा लागि पर्न आह्वान गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले शिक्षालाई हरेकको पहुँचभित्र कसरी पुर्याउने र गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भनेर हामीले सोच्न आग्रह गर्दै कसरी ज्ञानलाई आर्जन, सङ्कलन र सम्प्रेषण गर्छौ भन्ने अति महत्वको विषयमा मनन गर्न सम्झाउनुभयो ।

यस सङ्गठनको जन्म नै अधिकार प्राप्तिको आन्दोलनका क्रममा भएकाले आगामी दिनसम्म उच्चशिक्षा क्षेत्रमा गरिनुपर्ने सुधारका लागि प्रभावकारी भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो । रासस

ताजा अपडेट
TOP