logo
सोमबार, ३० भाद्र २०८२

सार्वभौम जनतालाई रैती बनाउने प्रयास नगर्न प्रचण्डको चेतावनी

सार्वभौम जनतालाई रैती बनाउने प्रयास नगर्न प्रचण्डको चेतावनी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वभौम भइसकेका नेपाली जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा पनि सफल हुन नदिइने बताउनुभएको छ ।

समाजवादी मोर्चा नेपालले शुक्रवार राजधानीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिलाई कमजोर पार्न नदिइने स्पष्ट पार्नुभयो ।

गणतन्त्रवादीले गरेको कमीकमजोरीका कारण प्रतिक्रियावादीले केही लाभ लिएको उल्लेख गर्दै वर्तमान सरकारले आफ्नो कार्यशैली सुधारेर जनपअपेक्षा पूरा गर्नतर्फ केन्द्रित हुन उहाँले सुझाव दिनुभयो ।

संविधानसभाबाट जारी संविधान कार्यान्वयनमा देखिएको कमजोरी सच्याएर जानुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संशोधन अगावै राजनीतिक शक्तिबीच व्यापक छलफल आवश्यक रहेको बताउनुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न, महिला, दलित, आदिवासी जनजातिलाई थप अधिकार प्रदान गर्न संविधान संशोधन गर्न सकिन्छ”, प्रचण्डले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ठूलो सङ्घर्षबाट जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले वंशको दासत्व कुनै हालतमा स्वीकार्य नरहेको बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “देश र जनताको भलो नगरेको राजतन्त्र कुनै पनि हालतमा फर्कँदैन । कसैले वंश शासन ल्याउने खोजे ठूलो मूल्य चुकाउनुपर्छ ।” जनचाहना पूरा गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिँदै उहाँले जनअपेक्षा पूरा गर्न नसक्दा असन्तुष्टि पैदा भएको टिप्पणी गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको सङ्घर्षको बलमा परास्त भएका शक्ति फेरि जुर्मुराउने प्रयास गरिरहेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट पछाडि फर्कने विषय कुनै हालतमा स्वीकार्य नभएको बताउनुभयो । उहाँले किसान, मजदुर, युवा, विद्यार्थीलगायत आमनागरिकले भोग्दै आएको समस्या समाधान गरेर जान सरकारलाई सुझाव दिनुभयो ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले प्रतिगामी शक्तिहरूले द्वन्द्व निम्त्याएर मुलुकलाई अप्ठ्यारोमा पार्न चाहेको जिकिर गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायको प्रत्याभूति गराउन गणतन्त्रवादी शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले सार्वभौम अधिकारप्राप्त आमनागरिक कोही पनि राजतन्त्रको पक्षमा नरहेको बताउनुभयो । रासस

ताजा अपडेट
TOP