logo
बिहीबार, २६ असार २०८२

इन्जिनियरहरुले मजवुत संरचना निर्माणमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री

इन्जिनियरहरुले मजवुत संरचना निर्माणमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रगतिशील इन्जिनियर्स एसोसियसन नेपालको मंगलवार आयोजित १०औँ महाधिवेशनमा प्रधानमन्त्रीले मजवुत संरचना निर्माणमा इन्जिनियरहरुको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो देशमा पहाडी संरचना भएकाले पहिरो जाने समस्या छ, इन्जिनियरले यो परिवेशलाई बुझेर भौगर्विक अवस्थाको मुल्याङ्कन गरी सुरक्षित संरचना निर्माणमा ध्यान दिनुपर्छ, खतरायुक्त स्थानमा संरचना बनाउनु हुँदैन, कानुनी कुरामा भएका समस्या सुधार गर्न सुझाव दिनुहोला, सरकारले त्यसमा ध्यान दिने छ ।”

नेपाली विद्यार्थी विदेश गएर अध्ययन गरेको कुराप्रति चिन्ता लिनुभन्दा पनि नेपालमा उन्नत र उद्यमशीलता प्रवर्द्धन गर्ने शिक्षा दिने प्रणालीलाई खुलापनका साथ अवसरको सृजना गर्ने वातावरण दिनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले उहाँले उद्यम गर्नेलाई धरौटी लिएर हैन, योजनालाई विश्वास गरेर ऋण दिएर काम गर्ने अवसर सृजना गर्न सक्नुपर्ने उल्लेख गर्दै १५ वर्षसम्म ऋण तिर्ने वातावरण बनाउनुपर्छ भन्नुभयो । “व्यवसाय गरेर ऋण तीर्नसक्ने वातावरण नभएपछि व्यक्ति निराश हुन्छ, यो हुनुहुँदैन,” उहाँले भन्नुभयो ।

प्रगतिशील इन्जिनियर्स एसोसियसनका अध्यक्ष ई डा सुरज लामिछानेले २०४७ सालमा ‘इन्जिनियरिङ स्टडी ग्रुप’ का नाममा स्थापना भएको संस्था अहिले एमाले पार्टीको जनवर्गीय सङ्गठनको रूपमा क्रियाशील रहेको बताउनुभयो । रासस

TOP