logo
२ चैत्र २०८१, शनिबार

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउन सहकार्य आवश्यक’

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउन सहकार्य आवश्यक’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई बलियो बनाइराख्न दलहरुबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपाली कांग्रेस संविधानप्रति पूर्ण प्रतिवद्ध रहेको र कुनै पनि प्रतिगमन वा षड्यन्त्रका विरुद्ध सबै दलसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो । थापाले अहिले नागरिक तहमा देखिएको असन्तुष्टिको कारणलाई गम्भीरतासाथ लिनुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री थापाले ठूलो सङ्ख्यामा युवा सडकमा उत्रिनु व्यवस्था विरोधी चेतावनी भएकाले यसलाई नजरअन्दाज गर्न नहुने बताउनुभयो । “नागरिक तहमा असन्तुष्टि छ, आक्रोश छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्छ, बेवास्ता गर्नु हुँदैन,” उहाँले भन्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, “हामीले आलोचना गर्नुपर्छ, प्रश्न उठाउनु पर्छ, तर लोकतन्त्रलाई कमजोर पार्ने गरी द्वेष फैलाउनु हुँदैन ।” लोकतान्त्रिक व्यवस्थामा आलोचना स्वीकार्य भएपनि दलप्रति घृणा फैलाउने काम गर्न नहुने उहाँको भनाइ छ ।

महामन्त्री थापाले सङ्घीयता बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनेतर्फ केन्द्र सरकार उदासीन रहेको आरोप लगाउनुभयो । प्रदेशलाई अधिकार नदिएर कमजोर बनाएको धारणा राख्दै उहाँले कानुन निर्माण नहुँदा प्रदेश सरकार असक्षमजस्तै बनेका तर्क गर्नुभयो ।

भ्रष्टाचार नियन्त्रणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिदै महामन्त्री थापाले भन्नुभयो, “सांसदको सम्पत्तिको छानबिन गर्न हामी सबैले माग गरिरहेका छौँ । त्यसका लागि उपयुक्त आयोग वा उच्चस्तरीय समिति के गठन गर्नुपर्छ ? त्यसका लागि हामी तयार छौँ ।”

महामन्त्री थापाले लोकतन्त्रमा नागरिक सर्वोपरि हुने भएकाले सबै दललाई संविधान र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा पहल गर्न पनि आह्वान गर्नुभयो । रासस

TOP