logo
२ चैत्र २०८१, शनिबार

‘पार्टीमा अन्तर्घात जस्तो रोगलाई सदाका लागि निर्मूल गरौँ’

‘पार्टीमा अन्तर्घात जस्तो रोगलाई सदाका लागि निर्मूल गरौँ’

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र असमझदारी हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

धनगढीमा सोमवार सुरु भएको पार्टीको प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा उहाँले आपसी प्रतिस्पर्धाका नाममा पार्टीलाई अहित गर्ने काम गर्न नहुने र सुदूरपश्चिमबाटै यसको सुरुआत गर्न आग्रह गर्नुभयो ।

“पार्टीभित्रको प्रतिपस्र्धा स्वभाविक मानिए पनि अन्य पार्टीसँगको प्रतिस्पर्धाका क्रममा हुने अन्तर्घात जस्तो रोगलाई सदाका लागि निर्मूल गरेर अघि बढ्नुपर्छ । यसको सुरुआत यहीबाट गरौँ”, सभापति देउवाले भन्नुभयो । कांग्रेस-एमालेबीच गठबन्धन गर्नुपर्ने विविध कारण उल्लेख गर्दै सभापति देउवाले मुख्य प्रतिस्पर्धी भए पनि संसद्को गणित र देशको आवश्यकताअनुसार मिलेर सरकार बनाउनुपरेको धारणा राख्नुभयो ।

सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीले गरेका राम्रा कामको प्रचार गरेर पार्टीप्रति जनताको विश्वास र भरोसा जगाउन जरूरी रहेको धारणा राख्नुभयो । उपसभापति खड्काले भन्नुभयो, “पार्टीप्रतिको भरोसाको जगलाई आधार बनाएर अहिले देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सकिन्छ । त्यसमा सबै जुटौँ, आआफ्नो क्षेत्र र तहबाट राम्रो काम गरौँ ।”

महामन्त्री गगनकुमार थापाले देशमा व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएको गुनासो आइरहेकाले पार्टीले नागरिकको असन्तुष्टिको आगो निभाउनेतिर लाग्नुपर्ने बताउनुभयो । उहाँले शासनको भार संविधानलाई बोकाएर नहुने भन्दै संविधान निर्माणको नेतृत्व गरेको कांग्रेसले संविधानबमोजिम जनताको अवस्था बदल्ने कार्यमा लाग्न जोड दिनुभयो ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको व्यवस्थाभित्रैबाट सबैको हित गर्न सकिने बताउनुभयो । विगतमा देशको प्रतिकूलतालाई अनुकूलतामा लैजाने कामको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै उहाँले पार्टीले संयमता, एकता, परिपक्ताका साथ काम गर्ने समय आएको बताउनुभयो ।

कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकले व्यवस्था र संविधानविरुद्ध भइरहेको षड्यन्त्रलाई राष्ट्र र कांग्रेसविरुद्धको षडयन्त्रको संज्ञा दिनुभयो । उहाँले सहिष्णुता, उदारता जस्ता नेपाली लोकतन्त्रका विशेषतालाई कमजोरीका रूपमा नलिन परिवर्तनविरोधीलाई चेतावनी दिनुभयो ।

कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुशासन कायम गर्न प्रदेश सरकारले इमान्दारिता र नैतिकताका साथ काम गरिरहेको बताउनुभयो ।

सम्मेलनको उद्घाटन समारोहमा कांग्रेसका केन्द्रीय प्रवक्ता डा प्रकाशशरण महत, सहमहामन्त्रीहरू जीवन परियार, भीष्मराज आङदम्बे, महालक्ष्मी (डिना) उपाध्याय, पूर्वमहामन्त्रीद्वव कृष्ण सिटौला, डा.शशाङ्क कोइराला, प्रदेश सभापति वीरबहादुर बलायरलगायतले सम्बोधन गर्नुभएको थियो ।

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट कांग्रेसका प्रतिनिधि सहभागी सम्मलेनमा पार्टीका प्रदेश महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ । रासस

TOP