

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको प्रतिक्रिया दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभा जानुभएकी मन्त्री डा देउवा शुक्रवार स्वदेश फर्किएपछि सो प्रतिक्रिया दिनुभएको हो ।
मन्त्री डा देउवाले गत मङ्गलबार राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुभएको थियो । सो सत्रमा राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूका परराष्ट्र तथा मानवअधिकारसम्बन्धी मन्त्री एवं मानवअधिकारका क्षेत्रमा कार्यरत व्यक्तिहरूको सहभागिता थियो ।
नेपाल फर्किएपछि मन्त्री डा देउवाले मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपालले विगत लामो समयदेखि काम गरिरेहको जानकारी विश्व समुदायलाई गराउँदै सोही प्रतिबद्धताका साथ नेपालले उक्त परिषदको आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएकाले संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरूसँग नेपाललाई सहयोग गर्न आग्रह गरेको बताउनुभयो ।
संयु संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यसहितको उम्मेदवारीमा नेपाललाई मतदान गर्न आफूले विश्व समुदायलाई आग्रह गरेको र उहाँहरूले पनि नेपाललाई सहयोग गर्ने वचन दिनुभएको मन्त्री डा देउवाले जानकारी गराउनुभयो ।
यस भ्रमणका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग भेटवार्ता गरी नेपालमा मानवअधिकार तथा संक्रमणकालीन न्यायको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
त्यसैगरी उहाँले जेनेभामा रहँदा स्वीट्जरल्याण्ड, नर्वे, स्पेन, स्लोभाकिया, फिलिपिन्स, अजरबैजान, किर्गिस्तान, मेक्सिकोलगायतका मुलुकका समकक्षी, प्रतिनिधिमण्डल र नेताहरूसँग भेटवार्ता गरी द्विपक्षीय हित र चासोका विषयहरूमा छलफल गर्नुभएको थियो ।
साथै भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाले आयोजना गरेको स्वागत समारोहमा उपस्थित भएका एक सयभन्दा बढी मुलुकका नियोगप्रमुख तथा प्रतिनिधि एवं संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाका पदाधिकारीसँग पनि मन्त्री डा देउवाले नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिएर सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
मन्त्री डा देउवा सहितको प्रतिनिधिमण्डल शुक्रवार बिहान १०:३० मा काठमाठौँ आइपुग्ने कार्यक्रम रहेकोमा यहाँको मौसम खराब भएपछि दोहाबाट आएको कतार एयरवेजको विमान भारतको कोलकाता डाइभर्ट गरिएको थियो । त्यसपछि कोलकाताबाट अपराह्न मात्र उहाँ काठमाडौँ फर्किनुभएको थियो । रासस
प्रतिक्रिया