logo
३० माघ २०८१, बुधबार

पार्टीमा एकता भए बहुमत प्राप्त गर्न सकिन्छः सभापति देउवा

पार्टीमा एकता भए बहुमत प्राप्त गर्न सकिन्छः सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताबीच एकताबद्ध रुपमा सङ्गठित भएर अब कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा साेमबार पोखरामा आयोजित प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पार्टी सभापति देउवाले विद्यमान समावेशी एवं समानुपातिक राजनीतिक प्रणालीका कारण एउटा पार्टीको बहुमत आउन गाह्रो भए पनि एकताबद्ध प्रयास भएमा कांग्रेसले बहुमत ल्याउने बताउनु भयो ।
सभापति  देउवाले संवैधानिक व्यवस्थासहित राज्य सञ्चालनमा मुलुकका सबै जातजाति, भाषा, समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको धारणा व्यक्त गर्नुभयो । सङ्घर्षको जगमा प्राप्त लोकतन्त्र, सङ्घीयता र समावेशितालाई सुदृढ गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
सभापति देउवाले देश विकासका लागि अधिकारको विकेन्द्रीकरण हुनुपर्नेमा जोड दिनुभयो । प्राप्त अधिकारको सदुपयोग गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै उहाँले सदैव देश र जनताका पक्षमा खटिएर काम गर्न नेता तथा कार्यकर्तासँग आग्रह गर्नु भयो ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टीका  उपसभापति पूर्णबहादुर  खड्काले पार्टीकोे प्रशिक्षण कार्यक्रम केन्द्र, प्रदेश, जिल्ला एवं निर्वाचन क्षेत्रमार्फत सबै ठाउँमा सञ्चालन हुने जानकारी दिनुुभयो ।

TOP