

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी-व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
नेपाल चेम्बर अफ कमर्शद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै उहाँले निर्यात बढाउन ठुलो मात्रामा उत्पादन गर्न र कुन चिज कहाँ बिक्री हुन्छ भन्ने थाहा पाएर त्यसअनुसारको व्यापारवृद्धि गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले बहुतै असहज राजनीतिक अस्थिरताजस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका बेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेका दावी गर्नुभयाे। सन् २०२६ मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नती गर्ने तयारीमा भएको उहाँकाे भनाइ छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले कृत्रिम बौद्धिकताबारे नीतिगत स्पष्टता गरी कानुनी प्रबन्ध गर्ने र सूचना प्रविधि क्षेत्रको व्यवसायिक विकासका लागि सरकारले ल्याएका अध्यादेश उपयोगी हुने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारले हालै ल्याएका विभिन्न अध्यादेशले उद्याृेग–व्यवसाय क्षेत्रमा सकारात्मक आशा प्रवाह भएको बताउनुभयो । नेपाल, भारत, पाकिस्तानलगायत मुलुकका गरी एक सय २५ प्रदर्शनी कक्ष रहेको चेम्बरको मेला यही माघ २१ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया