logo
३० माघ २०८१, बुधबार

साना र ठूला राष्ट्रको हित समान हुनुपर्छ : प्रधानमन्त्री ओली

साना र ठूला राष्ट्रको हित समान हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको स्पष्ट गर्नुभएको छ ।

नेकपा एमालेको परराष्ट्र मामिला विभागद्वारा सोमवार आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना र ठूला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित नभएको र सानो देश हौँ भन्ने हीनताभाव पाल्नुपर्ने आवश्यकता नरहेको धारणा पनि व्यक्त गर्नुभयो ।

राष्ट्रिय हितभन्दा सत्ता स्वार्थ र स-साना कुराहरूलाई महत्त्व दिने प्रवृत्ति गलत भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालले आर्थिक, सांस्कृतिक र कूटनीतिक हितलाई ध्यान दिएर विश्वसनीय र जिम्मेवाररूपमा आफूलाई प्रस्तुत गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संसदमा हरेक विषयमा विस्तृत अध्ययन र तयारीका साथ प्रस्तुत हुन र संसद्लाई जिउँदो जाग्दो बनाउन सांसदहरूलाई सुझाव दिनुभयो ।

कार्यक्रममा विश्व व्यवस्थामा नेपालको परराष्ट्र नीति, बदँलिदो भू-राजनीतिक परिवेश, जलवायु राजनीति र कूटनीतिजस्ता विषयमा परराष्ट्र मामिला विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

TOP