काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आज शनिवार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको हो ।
राष्ट्रिय एकता दिवसका अवसरमा एक सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि मार्गदर्शक भएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा भन्नुभएको छ, “पृथ्वीनारायण शाहले स-साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ ।”
पृथ्वीनारायण शाहलाई सम्झना गर्दा उहाँको दिव्योपदेशको पनि सम्झना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले लोकप्रिय र सान्दर्भिक दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकको रूपमा रहेको बताउनुभएको छ ।
“राष्ट्रिय एकता दिवसको यस अवसरले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस्,” राष्ट्रपति पौडेलले भन्नुभएको छ ।
राष्ट्रपति पौडेलले सन्देश मार्फत नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण तथा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । रासस
प्रतिक्रिया