logo
७ माघ २०८१, सोमबार

सहकारी ठगी मुद्दामा रविसहित ७ जनालाइ धरौटीमा रिहा गर्न आदेश

सहकारी ठगी मुद्दामा रविसहित ७ जनालाइ धरौटीमा रिहा गर्न आदेश

पोखरा । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश नितिज राईको इजलासले सभापति लामिछानेलाई ६५ लाख रूपैयाँ, छविलाल जोशीलाई  ८८ लाख, लीला पछाइलाई ३७ लाख, मीना गुरुङलाई ५ लाख, रामबहादुर खनाललाई  १५ लाख, आरती गुरुङलाई ५ लाख र कृष्णबहादुर गुरुङलाई १ लाख धरौटी माग गरेको उक्त अदालतका स्रेस्तेदार राजन खनालले बताउनुभयो ।

अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलन गरेको आरोपमा सभापनि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । धरौटीमा रिहा भएका प्रतिवादीको मुद्दामा थप अनुसन्धान हुने स्रेस्तेदार खनालले जानकारी दिनुभयो । रासस

ताजा अपडेट
TOP