काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्लै ‘पर्यटक बसपार्क’ आवश्यक रहेको बताउनुभएको छ ।
काठमाडौँस्थित एक अस्थायी बसपार्कको निरीक्षण गर्दै उहाँले सङ्घीय राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा पर्यटक बसपार्कको आवश्यकता छ भन्नुभयो ।
टुरिष्ट बस एशोसिएसन अफ नेपालले काठमाडौँको गौशालास्थित पशुपति क्षेत्र विकास कोषमा बसपार्क निर्माणका लागि गरेको पहल र प्रस्तावका वारेमा छलफल गरेर अगाडि बढ्ने मन्त्री पाण्डेको भनाइ छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन प्रवर्द्धनका लागि मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्कको आवश्यक रहेको बताउनुभएको थियो । उहाँले पर्यटक बसपार्क निर्माणका लागि बोर्डले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले टिवान र नाट्टाले पशुपति क्षेत्र विकास कोषसँग बसपार्क निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको भन्दै उक्त कार्यमा सहयोग गर्न मन्त्रीलाई आग्रह गर्नुभएको थियो ।
टुरिष्ट बस एशोसिएसन अफ नेपालका अध्यक्ष भीष्म न्यौपानेले पर्यटकीय राजधानी पोखरा र चितवनको सौराहमा पर्यटकका लागि छुट्टै बसपार्क भए पनि सङ्घीय राजधानी काठमाडौँबाट भने सडकबाट पर्यटक बस गुडाउनुपर्ने बाध्यता रहेको भन्दै यसलाई अन्त्य गर्न पहल गरिदिन सरकारको ध्यानाकर्षण गर्नुभएको थियो ।
टिवानका संस्थापक अध्यक्ष श्रीकान्त आचार्य, सल्लाहकार केदार शर्मा, मदन आचार्यलगायतले मुुलुकको राजधानीमा काठमाडौँबाट बसपार्कको अभावका कारण बिहान ७ बजे चितवन, पोखरा, लुम्बिनीलगायत क्षेत्रमा पर्यटक बस गुडाउनुपर्ने अवस्था आएको भन्दै बसपार्क निर्माण भए जुनसुकै समयमा पर्यटक बस सञ्चालन गर्न सकिने बताउनुभएको थियो ।
हाल मुलुकको राजधानी काठमाडौँबाट पोखरा र चितवनको सौराह, लुम्बिनी, जनकपुरका लागि मात्रै दैनिक झण्डै एक सयवटा पर्यटकीय बस आवतजावत गर्दै आएका छन् । त्यस्तै दैनिक तीन हजारदेखि चार हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकले पर्यटक बसमा यात्रा गर्ने गरेका छन् ।
हाल व्यवसायीले बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस ‘पार्किङ’ गरेर यात्रु चढाउँदै आएका छन् । रातको समयमा विभिन्न ‘ग्यारेज’मा शुल्क तिरेर पार्किङ गर्दै आएका छन् । रासस
प्रतिक्रिया