logo
७ माघ २०८१, सोमबार

नागरिकका गुनासोप्रति निरपेक्ष रहन मिल्दैन : मन्त्री लेखक

नागरिकका गुनासोप्रति निरपेक्ष रहन मिल्दैन : मन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नागरिकका गुनासाप्रति संसदीय समिति निरपेक्ष रहन नहुने बताउनुभयाे ।

राज्य व्यवस्था तथा सुशासन समितिमा आजको छलफलमा प्राप्त उजुरीका सम्बन्धमा समिति सदस्यबाट उठाइएका प्रश्नमा उहाँले समितिले नागरिकका गुनासो र उजुरी सुन्नुपर्ने आवश्यकता रहेकाे बताउनुभएकाे हाे ।

नागरिकबाटै निर्वाचित भएर आएकाले संसद् र संसदीय समितिमा नागरिकले गुनासो नगरे कहाँ र कसलाई गर्ने भन्दै उहाँले त्यसरी आएका गुनासा र उजुरीलाई वर्गीकृत गरी हेर्न सुझाव दिनुभयो ।

गृहमन्त्री लेखकले नियमावलीमा समितिको कार्यक्षेत्र तोकिएकाले कार्यकारिणी, विधायिकी र न्यायपालिकाको सीमा र अधिकार क्षेत्र यकिन गरी त्यहाँ पठाइएका उजुरीको अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो ।

जाजरकोट, डोटी, बाजुरालगायत पश्चिम नेपालमा अघिल्लो वर्षको भूकम्प र यसै वर्ष बाढीपहिरोबाट प्रभावितले जाडोयाममा भोग्नुपरेका कठिनाइ र मानवीय संवेदना बुझेर सरकारले काम अघि बढाएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहभागितामा क्षतिको यकिन विश्लेषण भएका स्थानमा पुनःनिर्माण तथा नभएका स्थानमा क्षति यकिन गर्ने काम अघि बढाइने विश्वास दिलाउनुभयो ।

यसअघि सदस्यहरूले समिति बैठकमा प्राप्त उजुरी छलफलको सीमा, मापदण्ड, कार्यक्षेत्र तथा उठाइका विषय छलफल गरी टुङ्गो लगाउन सकिने सम्भावनाबारे जिज्ञासा राख्नुभएको थियो ।

केही सदस्यले भने विधेयक टुङगोमा पु¥याउने प्रमुख जिम्मेवारीलाई छोडेर उजुरी हेर्न लाग्दा ऐन निर्माण प्रभावित हुन सक्नेतर्फ गम्भीर हुन ध्यानाकर्षण गराउनुभएको थियो ।

समिति सभापति रामहरि खतिवडाले समितिमा ९२ उजुरी र निवेलन प्राप्त भएकामा ५८ वटा दर्ता भएको जानकारी दिनुभयो ।

ताजा अपडेट
TOP