logo
४ माघ २०८१, शुक्रबार

सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी छ : अध्यक्ष दाहाल

सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको भावनालाई केन्द्रबिन्दुमा राखेर सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “अहिलेको युग सूचनाको युग हो । प्रविधिको विकासले यस क्षेत्रमा धेरै अवसर र चुनौती ल्याएको छ, त्यसतर्फ सञ्चारकर्मी सचेत हुन जरुरी छ ।”

निष्पक्ष पत्रकारिताका लागि खबरदारी गर्न अध्यक्ष दाहालले महासङ्घलाई आग्रह गर्नुभयो । भ्रष्टाचारका विषयमा एकअर्कालाई दोषारोपण गर्नुभन्दा निष्पक्षरुपमा छानविन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार छानविन गर्न पूर्व प्रधानन्यायाधिशको संयोजकत्वमा शक्तिशाली समिति बनाउन आग्रह गर्नुभयो । कांग्रेस नेता केसीले भन्नुभयो, “एउटाले अर्कोलाई दोष लगाउने काम राम्रो होइन । एउटा निश्चित मापदण्ड र निश्चित मानक बनाएर भ्रष्टाचार छानविनमा जोड दिनुपर्छ ।”

काठमाडौँमा शुक्रवार आयोजित कार्यक्रममा नेकपा एमालेका नेता एवं संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तालाले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

ताजा अपडेट
TOP