logo
१० माघ २०८१, बिहीबार

जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यकः प्रधानमन्त्री

जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यकः प्रधानमन्त्री

विरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताउनुभएको छ ।

नेकपा एमालेको पर्सा जिल्ला कमिटीले आइतवार सखुवा प्रसौँनीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अहिलेको सरकारले देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी क्रान्तिकारी हौँ । क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुश गर्नु होइन, अब नागरिकको जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ ।” मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई आफूहरुले जोड दिएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय बढाउने जस्ता काममा विगतमा आफू सरकारमा हुँदा महत्व दिएको र अब पुनः ती कामले गति लिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिकलाई सम्मान गर्न तथा महिला दिदीबहिनीहरुलाई सामाजिक र राजनीतिकरुपमा अगाडि बढाउन सहयोग गर्न आग्रह गर्नुभयो । महिला र युवालाई अत्यधिकरुपमा परिचालन नगरेसम्म बलियो पार्टी बनाउन नसकिने भएकाले जनतामा भिजेर काम गर्न स्थानीय पार्टी नेतृत्वलाई उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा सो गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललगायत विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नुभएको थियो । रासस

TOP