logo
१० माघ २०८१, बिहीबार

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कार्य योजनासहित पहल गरिदैँ 

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कार्य योजनासहित पहल गरिदैँ 

कास्की। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्ने बताउनुभएको छ ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजित २६औँ पोखरा सडक महोत्सवको शनिवार उद्घाटन गर्दै सञ्चारमन्त्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारबाट आवश्यक निर्णय लिनका लागि पहल गर्ने बताउनुभयो ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका सम्बन्धमा सरकारले २० बुँदे कार्ययोजना पारित गरेको जानकारी दिँदै उहाँले त्यसको कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम गर्नुपर्ने बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले अन्तर्राष्ट्रिय उडान सञ्चालनका सन्दर्भमा स्वास्थ्य परीक्षण, ‘भिसा’ अनुमति, सामान आयात-निर्यातका लागि भन्सारलगायत सम्बन्धित कामहरू यहीबाट हुनेगरी सम्बन्धित मन्त्रालयले व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गुरुङले उहाँले अन्तर्राष्ट्रिय उडानका साथै पोखराबाट अन्य छवटा प्रदेशलाई हवाई सञ्जालबाट जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री पद्मा जिसी श्रेष्ठले गण्डकी प्रकृतिको अनुपम उपहार भएको भन्दै यसको उपयोगमा जोड दिनुभयो । यहाँका सम्भावनालाई उजागर गर्न सकेमा निराश हुनु नपर्ने उहाँको भनाइ छ ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै धेरै कामहरू अघि बढेको धारणा राख्नुभयो ।

रेवानका केन्द्रीय अध्यक्ष सङ्घर्ष बिष्टले सडक महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनका साथै विदेशी पर्यटकको बसाइँ लम्ब्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्वबजारमा पुर्यानउन पनि मद्दत पुगेको उहाँको भनाइ छ ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, रेवान पोखराका सल्लाहकार गणेशबहादुर भट्टराई, कार्यक्रम संयोजक विकास भट्टराईलगायत सडक महोत्सवको पर्यटकीय महत्वलगायत विषयमा प्रकाश पार्नुभयो ।

यही पुस १७ गतेसम्म चल्ने महोत्सवमा‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजित महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्टलगायत गतिविधि समावेश गरिएका छन् ।
महोत्सवका अवसरमा सडक महोत्सवमा रहने रेष्टुरेन्टहरूले परिकारमा २० प्रतिशतसम्म छुट दिने जनाइएको छ । यस्तै, होटलमा २० र प्याराग्लाइडिङ सेवामा १० प्रतिशत छुट दिने भएकोछ ।

स्थानीय उत्पादनको प्रवर्द्धन, वातावरणमैत्री वस्तुहरूको प्रयोग, नेपाली हस्तकलाको प्रवर्द्धनका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ । रासस

TOP