![](https://sambadnepal.com/wp-content/uploads/2024/11/320x405-1.png)
![](https://sambadnepal.com/wp-content/uploads/2024/11/320x405-1.png)
भक्तपुर । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्ने इच्छा भए स्वदेशमै ठाउँ र अवसर प्रशस्त रहेको बताउनुभएको छ ।
मध्यपुर महोत्सव-२०८१ को शुक्रवार बालकुमारीमा उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले पुर्खाले छाडेर गएका सीप, ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृति र उत्पादनको संरक्षण, संवद्र्धन र पर्यटकीय दृश्यकोणले बजारीकरण गर्न सके आर्थिक मेरुदण्ड बलियो हुने बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “आफू जन्मेको ठाउँको परिवेश बुझेर अपनत्व ग्रहण गर्दै यसको संरक्षण गर्ने, आफ्ना पुर्खाले छाडेर गएका सीप, स्थानीय कला संस्कृति, उत्पादनको संरक्षण र व्यावसापयिकीकरण गरे पनि आर्थिक उपार्जनका अवसरहरु यहीँ प्रशस्त भेटिन्छन् ।”
मध्यपुरथिमिका मूर्त-अमूर्त सम्पदाहरुको संरक्षण गर्ने, पर्यटक भित्र्याएर देखाउने, यस ठाउँलाई चिनाउने र नयाँ पिँढीलाई सिकाउनुपर्ने औँल्याउँदै उहाँले मध्यपुर महोत्सवले मध्यपुरथिमिको मात्रै नभई देशकै आर्थिक अवस्था उकास्ने उहाँले बताउनुभयो ।
विश्वमा नेपाललाई चिनाउने यहाँका कला, संस्कृति र ऐतिहासिक सम्पदाका धरोहरहरुको प्रचारप्रसार गर्ने, पर्यटक भित्र्याउन निम्तो दिने, पर्यकटलाई आकर्षित गरेर यहाँको आर्थिक विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
सो अवसरमा उपप्रधानमन्त्री सिंहले नगरपालिकाले प्रकाशन गरेको राससकर्मी रत्नकृष्ण श्रेष्ठको फोटो पुस्तक ‘हाम्रो मध्यपुरथिमि’को विमोचन गर्नुभयो ।
कार्यक्रममा सङ्घीय सांसदद्वय दुर्लभ थापा र सन्तोष परियार, बागमती प्रदेश सदस्य राजेन्द्रमान श्रेष्ठ, नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले मध्यपुर महोत्सव सबैको महोत्सव भएकाले यसलाई सफल पार्न सबैको उत्तकै सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सभापति एवं नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरको सम्पदाको संरक्षण, पर्यटन र आर्थिक विकासमा टेवा पुग्नेगरी नगरपालिकाले आयोजना गरेको महोत्सवमा पाँच सयभन्दा बढी स्टलहरु रहेको बताउनुभयो ।
पर्यटकीयस्थल भक्तपुर, नगरकोट, चाँगुनारायणदेखि धुलिखेल जाने मुख्य नाका मध्यपुरथिमि भए पनि यहाँ पर्यटकलाई आकर्षित गर्न नसकेको भन्दै उहाँले महोत्सवले पर्यटकीय गन्तव्य बनाउन टेवा पुग्ने बताउनुभयो ।
छब्बीस वर्ष अगाडिको प्रथम मध्यपुर महोत्सव तत्कालीन युवराजधिराज दीपेन्द्र वीर विक्रम शाहले उद्घाटन गर्नुभएको थियो । पुस १२ देखि १४ गतेसम्म संचालन हुने यो पटकको मध्यपुर महोत्सव दोस्रो महोत्सवका रुपमा रहेको उहाँले जानकारी गराउनुभयो ।
प्रतिक्रिया