इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक-सामाजिक क्षेत्रमा धेरै सुधार भएको बताउनुभएको छ ।
नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको शनिवार इटहरीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि भएका पूर्वाधार विकास र त्यसपछिका आर्थिक विकास तथा रोजगारीका अवसर सृजनालगायत क्षेत्रमा व्यापक परिवर्तन भएको बताउनुभयो ।
“हामीलाई चाहिएको मानव जातिको सुख हो । हाम्रा मेहनतको ध्येय सुख पाउनु हो । ज्ञान र बुद्धि कस्तो छ भन्ने आधारमा मानिसको मूल्याङ्कन हुन्छ । बुद्धि भ्रष्ट भएमा काम लाग्दैन । मानिसमा विनम्रता हुनुपर्छ ।
विश्व ध्यान दिवसको सन्दर्भ उल्लेख गर्दै उहाँले यस दिवसलाई सधँ अपनाउन र मानव हितलाई केन्द्रमा राखेर पृथ्वीलाई जोगाउन आग्रह गर्नुभयो ।
जेसिजको लक्ष्य विश्व शान्ति, नेतृत्व विकास र उद्यमशीलता भएकाले मुलुकमा जेसिजको विस्तार भएकामा त्यसको सराहना गर्नुभयो ।
प्रतिक्रिया