logo
७ माघ २०८१, सोमबार

शिक्षाबाट नै मुलुक आत्मनिर्भर बन्न सक्छ : प्रधानमन्त्री ओली

शिक्षाबाट नै मुलुक आत्मनिर्भर बन्न सक्छ : प्रधानमन्त्री ओली

धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय (केयू)को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै  शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शनिवार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित केयूको ३०औँ दीक्षान्त समारोहमा रोजगारी खोज्ने शिक्षा नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताउनुभयो ।

केयूका कुलपतिसमेत रहनुभएका ओलीले विद्यार्थीलाई पढाईसँगै रोजागरीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमूना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रमाणपत्रले मात्रै दक्ष पनि नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “सर्टिफकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ ।”

प्रधानमन्त्री ओलीले सीप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने बताउनुभयो । “विद्यार्थीको आचरण, नैतिकता र सोच सकारात्मक हुनुपर्छ” उहाँले दीक्षित विद्यार्थीतर्फ इङ्गित गर्दै भन्नुभयो, “विद्यार्थी मृदुभाषी, नम्र, मानवतावादी, शान्तिप्रिय र आचरणवादी हुनुपर्छ, सफताका लागि अझ परिस्कृत म्यानर मिसाउनुपर्छ ।”

कार्यक्रममा भारतको पटनास्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका निर्देशक प्रोफेसर त्रिलोकनाथ सिंहले नेपाल-भारतको इतिहास र भूगोलमा असाधारण सम्बन्ध रहेकाले व्यापार, शिक्षा र अनुसन्धानका क्षेत्रमा भएको पारस्परिक सम्बन्ध र नवप्रवर्तनका क्षेत्रमा दुई देशको साझेदारीले साझा प्रगति र दीगो विकासका मार्ग प्रशस्त गरेको बताउनुभयो ।

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं केयूको सहकुलपति विद्या भट्टराईको उपस्थिति रहेको थियो । यस अवसरमा विश्वविद्यालयका विभिन्न सङ्कायका १ हजार २ सय ६५ जना विद्यार्थी दीक्षित भएका छन् । रासस

ताजा अपडेट
TOP