काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले थालनी गरेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानबाट नेपालमा समाजवादको भ्रुण रोपिएको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसका अवसरमा सोमवार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल समाजवादको भ्रुणलाई समृद्ध बनाएर लैजानुपर्ने अबको दायित्व भएको बताउनुभयो । उहाँले विगतको समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउने प्रण गरेको उल्लेख गर्नुभयो ।
वि सं २०६४ सालमा जनताले माओवादीप्रति गरेको विश्वास र भरोसा कायम राख्न नसकेको स्वीकार्दै अध्यक्ष दाहालले पार्टीलाई एकताबद्ध गरेर जनभावनाको उच्च सम्मान गरी विकास र समृद्धिमा ध्यान नदिँदा आन्दोलन पछि परेको बताउनुभयो ।
माओवादीका महासचिव देवप्रसाद गुरुङले विश्व भूराजनीतिक परिस्थितिका कारण राष्ट्रिय स्वाधिनतामाथि चुनौती थपिएको उल्लेख गर्दै राष्ट्रिय एकता कायम गर्न कर्मचारी तन्त्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । रासस
प्रतिक्रिया