logo
७ माघ २०८१, सोमबार

स्वस्थ्य नेपाल र स्वस्थ्य भावी पुस्ता-हाम्रो लक्ष्य : स्वास्थ्य मन्त्री

स्वस्थ्य नेपाल र स्वस्थ्य भावी पुस्ता-हाम्रो लक्ष्य : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संरचनालाई निरोधात्मक पक्षमा ध्यान दिँदै चेतनाको अभिवृद्धिमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय जनस्वास्थ्य दिवसका अवसरमा नेपाल जनस्वाथ्य सङ्घले आइतवार आयोजना गरेको कार्यक्रममा उहाँले स्वस्थ्य नेपाल र स्वस्थ्य भावी पुस्ता बनाउने कार्यमा लाग्नुपर्नेमा जोड दिनुभएको हो ।

“बिरामी हुँदा उपचार गर्ने राज्यको दायित्व हो । तर विरामीको सङ्ख्या बढ्दै जाँदा सबैको निःशुल्क उपचार गर्न नसकिने अवस्था पनि हुन्छ”, स्वास्थ्यमन्त्रीले भन्नुभयो, “सबैलाई कसरी निरोगी बनाउने र कम खर्चमा कसरी सेवा गर्न सकिन्छ त भन्ने मुख्य कुरा हो ।” जनस्वास्थ्य क्षेत्रको उपस्थितिले यी लक्ष्य हासिल गर्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रमा जनस्वास्थ्य अधिकृतको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “स्रोत व्यवस्थापन गर्न सकियो भने सबै स्थानीय तहमा जनस्वास्थ्य अधिकृत चाहिन्छ, स्वास्थ्य ऐन छुट्टै चाहिएकै छ । बनाउने क्रममा छौँ । जनस्वास्थ्यकर्मीको दक्षता नीति निर्माणमा चाहिएको छ ।”

सङ्घका उपाध्यक्ष तेजप्रसाद दुलालले जनस्वास्थ्य विषयका महत्व तथा यस क्षेत्रका सवाललाई उजागर गरेर राज्यका विभिन्न निकाय तथा सरोकारवालालाई यसको प्राथमिकताबारेमा सचेतना गर्ने उद्देश्यले दिवस मनाउने गरेको बताउनुभयो ।

नेपाल जनस्वास्थ्य सङ्घ २०४७ साल मङ्सिर २३ गते स्थापना भएको हो । यस वर्ष ‘जनस्वास्थ्य लगानी गरौँ, स्वस्थ्य राष्ट्र निर्माण गरौँ’ भन्ने नाराका साथ सङ्घले सातै प्रदेशमा सप्ताहव्यापी दिवसको कार्यक्रम सञ्चालन गरेको छ । रासस

ताजा अपडेट
TOP