काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-चीन सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ । प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर विहिवार स्वदेश फर्किनुभएको हो ।
चीनबाट फर्किनुभएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ भएको र त्यसबाट नेपाललाई लाभ हुने बताउनुभएको हो ।
“भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ) अन्तर्गत विभिन्न परियोजनाहरुको सम्झौता भएको छ, जुन सम्झौताबाट नेपालले अधिकतम लाभ लिने सक्नेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा सम्झौता भएको छ । बेइजिङमा भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गर्नुभएको थियो ।
प्रधानमन्त्री केपी ओली र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएको थियो । दुवै देशका प्रधानमन्त्रीबीच उक्त समझदारीका वारेमा द्विपक्षीय वार्ता भएपछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रतिक्रिया