काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ ।
गणतन्त्र सेनानी कोषले बुधवार आयोजना गरेको ‘गणतन्त्र सेनानी सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भ्रष्टाचारका विरुद्ध, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि अभियान थालिने बताउनुभयो ।
अब प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डालाई अघि बढाइने घोषणा गर्दै अध्यक्ष दाहालले गणतन्त्रलाई जनताको व्यवस्था बनाउन निरन्तर लागिपर्ने बताउनुभयो ।
नयाँ क्रान्तिका लागि विभाजित माओवादी धारलाई एकताबद्ध गर्ने उहाँको भनाइ छ ।
आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै उहाँले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुआत गरिसकिएको स्पष्ट पार्नुभयो ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले लामो सङ्घर्ष र बलिदानपछि गणतन्त्र स्थापना भएको उल्लेख गर्दै गणतन्त्रका उपलब्धि रक्षा गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले क्रान्तिको एक चरण पूरा भएको उल्लेख गर्दै अबको सङ्घर्षको स्वरुप सुशासन र भ्रष्टाचारविरुद्ध केन्द्रित भएको बताउनुभयो ।
यसैबीच गणतन्त्र सेनानी कोषलेनेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ ।
गणतन्त्र स्थापनाको पक्षमा नेतृत्वदायि भूमिका निर्वाह गरेको भनी अध्यक्ष दाहाल र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाइसम्मान गरिएको छ । रासस
प्रतिक्रिया