logo
१३ चैत्र २०८१, बुधबार

जनसङ्ख्या र विकासको छलफलमा ३० देशका प्रतिनिधि जुटे

जनसङ्ख्या र विकासको छलफलमा ३० देशका प्रतिनिधि जुटे

काठमाडौँ । जनसङ्ख्या र विकास, त्यसमा परेको प्रभाव र जलवायु परिवर्तनले गरेका असरलगायत विषयमा छलफल गर्न विश्वका ३० देशमा ५ सय प्रतिनिधिहरू काठमाडौँमा भेला भएका छन् ।

एसियाली जनसङ्ख्या सङ्घ (एपिए) र त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस) को संयुक्त आयोजनामा आजदेखि काठमाडौँमा सुरू छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनमा उहाँहरू सहभागी हुनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको कार्यक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकोसमेत सहभागिता थियो ।सम्मेलनमा जनसङ्ख्या सँगसँगै एसियाको जनसाङ्ख्यिकी अवस्थाका विभिन्न पक्षका बारेमा छलफल हुने सम्मेलन आयोजक समितिका संयोजक त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस)का प्रमुख प्रा योगेन्द्रबहादुर गुरूङले जानकारी दिनुभयो ।

प्रा गुरुङले शनिबारसम्म चार दिन चल्ने सम्मेलनमा विषय विज्ञहरूबाट जनसङ्ख्या, बसाइँसराई, प्रजनन् तथा मृत्युदरलगायका विषयमा विश्वका देशको अवस्थासहितको तथ्याङ्क विश्लेषण हुने हुँदा अनुभव आदानप्रदान र एक देशले अर्को देशको अवस्थाका बारेमा जानकारी हासिल गर्न सक्ने बताउनुभयो ।

प्रा गुरुङका अनुसार जलवायु परिवर्तनका कारण जनसङ्ख्यामा परेको असरका विषयमा सम्मेलनमा छलफल हुने छ । नेपालमा जनसङ्ख्यासम्बन्धी नीति संशोधन गर्ने चरणमा रहेकाले सम्मेलनको निष्कर्ष त्यसका लागि सहयोगी हुने विश्वास लिइएको छ ।

सम्मेलनमा १७ वटा मुख्य विषयमाथि विभिन्न ५३ सत्रमा छलफल हुनेछ । मुख्य १७ वटा विषयका चार सयभन्दा बढी कार्यपत्रमाथि छलफल हुने जनाइएको छ ।

यसका साथै दुईसय २६ वटा मौखिक एवं एक सय ८४ वटा अन्य प्रस्तुति पनि रहने जनाइएको छ । सम्मेलनले संयुक्त अवधारणापत्रका रूपमा काठमाडौँ घोषणापत्र जारी गरिने जनाइएको छ ।

ताजा अपडेट
TOP