

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई विदेशिनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणासहितको व्यवस्थापनको खाँचो रहेको औँल्याउनुभएको छ ।
काठमाडौँमा आज बुधवारदेखि सुरूभएको छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले युवाको विदेश पलायन रोक्नु नै चुनौतीको विषय भएको भन्दै यसतर्फ साझा व्यवस्थापनको खाँचो रहेको औँल्याउनुभयो ।
सभापति देउवाले भन्नुभयो, “नेपालको सवालमा ठूलो सङ्ख्यामा युवा अवसरको खोजीमा अन्यत्र सर्ने क्रम देखिएको छ । हामी एक्लैलेमात्र उनीहरूको ऊर्जा, उत्पादनशीलता, नवप्रवर्तन र उद्यमशीलतालाई व्यवस्थापन गर्नसक्ने अवस्थामा छैनौँ । युवापुस्ता राम्रो आम्दानीको स्रोतको खोजीमा बाहिर बसाइँ सर्दैछन् । त्यसैले एसियाको धेरै खालको विकासको अवधारणामा साझा व्यवस्थापनको खाँचो रहेको छ ।”
सभापति देउवाले युवालाई आवश्यकता अनुसार उद्यमशीलतामा जोड्न नसकिए अझै युवा विदेशिनेक्रम बढ्ने पनि बताउनुभयो । उहाँले विभिन्न सामाजिक मुद्दाहरूले भविष्यलाई नै चुनौती सिर्जना गरिरहेका सन्दर्भ जोड्दै बालविवाह, पोषण, शिक्षा आदिले समाजलाई प्रभाव पारिरहेको बताउनुभयो ।
विश्वमा भइरहेको तापक्रम वृद्धि तथा जलवायु परिवर्तनका मुद्दाले पहिल्यै कायम रहेका समस्याहरूलाई थप बढावा दिइरहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री देउवाले यस सम्मेलनले ती चुनौतीलाई पार गर्न प्रभावकारी मार्गनिर्देशन दिन्छ भन्ने आशा राखेको बताउनुभयो । यस सम्मेलनले एसिया क्षेत्रमा देखिएको जनसाङ्ख्यिक सङ्क्रमणलाई व्यवस्थापन गर्न पनि आवश्यक पहल लिने अपेक्षा रहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको सम्मेलनमा एसियाली जनसङ्ख्या एशोसिएसनका अध्यक्ष रेइको हायाशीलले नेपालमा पहिलोपल्ट यो सम्मेलन भएको जानकारी दिँदै यसरी भेला भएर छलफल गर्न पाउँदा खुसी लागेको बताउनुभयो । रासस
प्रतिक्रिया