logo
४ माघ २०८१, शुक्रबार

चिलिमेका तीनवटा आयोजनाबाट १६८ मेगावाट थपियो 

चिलिमेका तीनवटा आयोजनाबाट १६८ मेगावाट थपियो 

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा सुरु भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ ।

ती जलविद्युत् आयोजना निर्माण सम्पन्न भई एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०-१३२-३३ केभी सवस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो ।

कूल १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन र एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् ।

यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रुपमा विद्युत् उत्पादन गरी हालसम्म करिब रु ३० करोडको विद्युत् बिक्री गरिसकेको छ ।

यस्तै, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रुपमा विद्युत् उत्पादन सुरु गरिएको छ ।

त्यस्तै, एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रुपमा विद्युत् उत्पादन गरिरहेको छ ।

परीक्षण उत्पादन सफल भएपछि एवं तोकिएको मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीको व्यावसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ ।

नदी प्रवाहमा आधारित ती आयोजनाबाट हिउँदयाममा करिब ८० मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ ।

चिलिमे जलविद्युत् कम्पनीको अनुवाइमा दुई सय ७० मेगावाटका चार वटा आयोजना सुरु गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्यभोटेकोसीबाहेक तीन वटा आयोजना सम्पन्न भएका हुन् ।

सबै आयोजना २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, विभिन्न आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहे ठूलो बाढी, पहुँच मार्गमा निरन्तर गइरहने पहिरो, कोभिड-१९ को महामारी, सामान आयातमा सिर्जित समस्यालगायतको चपेटामा परेका थिए ।

भूकम्प, नाकाबन्दी, विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिँदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागतमा केही वृद्धि भएको छ ।

माथिल्लो साञ्जेन र सञ्जेन गरी दुवै आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक रु सात अर्ब ३५ करोड थियो ।

आयोजनाको प्रवद्र्धक साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले निर्माण अवधिको व्याजबाहेक आयोजनाहरुको लागत रु नौ अर्ब २० करोड हुने अनुमान गरिएको बताउनुभयो ।

उहाँले लागत अनुमानबमोजिम दुवै आयोजनाको अनुमानित लागत प्रति मेगावाट २२ करोड ५० लाख बराबर हुने देखिएको उल्लेख गर्नुभयो ।

चिलिमेका चारवटै आयोजनाहरुमा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको हो ।

कम्पनीमा चिलिमे जलविद्युत् कम्पनीको ३९दशमलव ३६ प्रतिशत, प्राधिकरणको १० दशमलव ३६ प्रतिशत, रसुवाका स्थानीय तहको एक दशमलव २८ प्रतिशत संस्थापक शेयर छ ।

TOP