logo
४ माघ २०८१, शुक्रबार

अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रम ओली

अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रम ओली

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट गर्नुभएको छ ।

नेकपा एमाले काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रवार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताउनुभयो ।

आफूहरुविरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौड्ने उल्लेख गर्दै अध्यक्ष ओलीले कागले कान लग्यो भन्दैमा आकाशतर्फ हेरेर कागका पछिपछि दौडन आवश्यक नरहेको बताउनुभयो ।

अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोज्नेहरुले सार्वभौम जनताको भविष्यलाई सङ्कटमा पार्ने प्रयास गरिरहेका छन्, यसमा हामी सचेत रहनुपर्छ भन्नुहुँदै हाम्रा लागि देश र जनता प्रमुख कुरा हुन्, त्यसमा दृढ तथा एकताबद्ध भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अर्बौँ रुपैयाँका मालिक बनेकाहरूले आफ्नाविरुद्ध आरोप लगाउँदै हिँडेका स्पष्ट पार्दै आफूमाथि भ्रष्टाचारको औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिनुभयो ।

अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार समाज र समुदायबीच अनेक खालका विद्वेष फैलाउने कार्यलाई निरत्साहित गर्न लाग्ने बताउनुभयो ।

बैंकको ऋण तिर्नुपर्दैन भन्नेहरुले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने उल्लेख गर्दै उहाँले उद्योगबाट बिलबमोजिम बक्यौता नउठाउने तर बिजुलीको लाइन काट्ने काम पनि देशको अर्थतन्त्र ध्वस्त पार्न खोज्ने शक्तिले गरेको दाबी गर्नुभयो । रासस

TOP