logo
४ माघ २०८१, शुक्रबार

‘शान्ति प्रक्रिया टुङ्ग्याउने नयाँ ‘मोडल’ प्रस्तुत गरौँ’ 

‘शान्ति प्रक्रिया टुङ्ग्याउने नयाँ ‘मोडल’ प्रस्तुत गरौँ’ 

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको बताउनुभएको छ ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगेका सन्दर्भमा बुधवार वक्तव्य दिँदै उहाँले शान्ति सम्झौताबाट नयाँ युगको सूत्रपात भएको बताउनुभयो ।

अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायत न्यायपूर्ण सङ्घर्षमा साहदत प्राप्त गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

शान्ति सम्झौताको मूलभूत मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने प्रक्रियामा रहेको जानकारी दिँदै अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारका पालामा सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि आवश्यक विधेयकलाई अन्तिम रुप दिइएको स्पष्ट पार्नुभयो ।

संविधानसभामार्फत संविधान जारी भइसकेपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत विकास र समृद्धिको जुन अपेक्षा गरिएको थियो, त्यो पूर्ण रुपमा हुन नसकेको असन्तुष्टि जनतामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ सङ्कल्पका साथ जानुपर्ने आवश्यकता औँल्याउनुभयो । त्यसका लागि संविधानलाई विकसित र परिमार्जित गर्न सकिने उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन अनवरत खटिने राजनीतिक दल, नागरिक समाज र आमजनताप्रति आभार प्रकट गर्नुभयो ।

विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । सात राजनीतिक दलका तर्फबाट तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा माओवादीका तर्फबाट अध्यक्ष दाहालले हस्तक्षर गर्नुभएको थियो ।

TOP