logo
४ माघ २०८१, शुक्रबार

पूर्वसभामुख ढुङगानाको निधनमा कांग्रेसले शोक मनाउँने

पूर्वसभामुख ढुङगानाको निधनमा कांग्रेसले शोक मनाउँने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमवार बसेको आकस्मिक बैठकले पूर्वसभामुख दमननाथ ढुङगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

पूर्वसभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा आइतबार भएको निधनले कांग्रेस मर्माहत र स्तब्ध भएको निर्णयमा उल्लेख गरिएको छ ।

नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका ढुङ्गाना विसं २०४८ को आमनिर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट विजयी भई २०५१ सम्म प्रतिनिधिसभाको सभामुख हुनुहुन्थ्यो ।

यसैगरी उहाँ विसं २०५१ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । नेपाली कांग्रेसका विभिन्न पदमा रहेर उहाँले पार्टीको सङ्गठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रूपमा समेत उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

मानव अधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि ढुङ्गानाले पु¥याउनुभएको योगदान सदैव स्मरणीय रहने बैठकपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

नेपाली काँग्रेसका इमान्दार नेता ढुङ्गानानिधनबाट सिङ्गो देशले वरिष्ठ कानुनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञ गुमाएको छ।

पूर्वसभामुख ढुङ्गानाको निधनप्रति केन्द्रीय कार्यसमिति बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

स्वर्गीय ढुङ्गानाप्रति सम्मान प्रकट गर्दै कांग्रेसले सोमवार र मंगलवार दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने भएको छ ।

मङ्सिर ४ गते मङ्गलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय पनि गरिएको छ ।

TOP