logo
१३ चैत्र २०८१, बुधबार

‘भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन गर्न आवश्यक छ’

‘भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन गर्न आवश्यक छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक रहेको बताउनुभयो ।
शुक्रवार सोमत घिमिरेद्वारा लिखित ‘सामुदायिक समाजवाद’ पुस्तक सार्वजनिक गर्नुहुँदै अध्यक्ष दाहालले समाजवाद जबर्जस्ती थोपरेर आउने कुरा नभएको सुनाउनुभयो । कुनै पार्टीका दस्तावेजमा लेखेर या अरु देशको नक्कल गरेर वास्तविक समाजवादको मर्म पूरा नहुने उहाँको भनाइ थियो ।
लेखक घिमिरेको पुस्तकको लेखनमाथि समीक्षा गर्नुहुँदै अध्यक्ष दाहालले आफ्नो पार्टीले ‘२१औँ शताब्दीको नयाँ जनवाद’ पुस्तक निकालेर जनताको समाजवादको विषय उठान गर्दै आएको बताउनुभयो ।
अध्यक्ष दाहालले उक्त दस्तावेजमा असली समाजवादमा जनताको नियन्त्रण, निगरानी र सक्रिय हस्तक्षेपको कुरा उल्लेख गरिएको छ भन्नुभयो ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले २०४६ सालदेखि जनताले समाजवादको भाषणमात्रै सुन्दै आएको तर अहिले पनि व्यवहारमा लागू हुन नसकेको टिप्पणी गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले समाजवादबाटै सीमान्तकृत समुदायको मुक्ति सम्भव हुने र आफ्नो पार्टी यसैका आधारमा सङघर्षरत रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

ताजा अपडेट
TOP