logo
४ माघ २०८१, शुक्रबार

सरकार र राजनीतिक दलबीच सहकार्य गर्न राष्ट्रपतिको जोड

सरकार र राजनीतिक दलबीच सहकार्य गर्न राष्ट्रपतिको जोड

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासका लागि सरकार र राजनीतिक दलहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।

गणेशमान सिंहको ११०औँ जन्मजयन्तीका अवसर शनिवार आयोजित कार्यक्रममा उहाँले सुशासन र आर्थिक विकासका माध्यमबाट सरकार र राजनीति दलप्रति नागरिकको विश्वास बढाउनुपर्ने बताउनुभयो ।

मुलुकभित्रै आफ्नो भाग्य र भविष्य सुनिश्चित छ भन्ने युवाको सपना साकार पार्ने, उनीहरुका चाहना यही व्यवस्थामा पूरा गर्न सम्भव छ भनेर जनतालाई विश्वास दिलाउन सक्नु नै अहिलेको आवश्यकता भएको राष्ट्रपतिले बताउनुभयो ।

विश्वेश्वरप्रसाद कोइरालाले गणेशमान सिंहकाबारेमा भन्ने गर्नुभएको कुरा स्मरण गर्दै उहाँले भन्नुभयो, “गणेशमानजी साहसी र सङ्घर्षशील मात्र हुनुहुन्नथ्यो, उहाँ भविष्य द्रष्टा पनि हुनुहुन्थ्यो । उहाँले भनेका अधिकांश कुरा सत्य सावित हुन्थे ।”

नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा गणेशमान सिंहको योगदानलाई नेपाली जनताले कहिल्यै नबिर्सने उहाँले बताउनुभयो ।

“लोकतान्त्रिक सिद्धान्त, मूल्यमान्यता र निष्ठालाई आफ्नो जीवनशैली मान्नु हुने गणेशमानजीले यसको मूल्यमा कहिल्यै सौदाबाजी गर्नुभएन, उहाँको त्यही सद्गुण नै लोकतन्त्रप्रेमीहरूका लागि आज पनि उत्तिकै प्रेरणापुञ्ज हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वर्तमान संविधानको समीक्षा गरी आवश्यकताका आधारमा संशोधन गर्न सकिने बताउनुभयो ।

प्रतिष्ठान अध्यक्ष भीमसेन दास प्रधानले असल राजनीतिज्ञ तथा नेताको पहिचान क्रान्तिका क्रममा नभई जिम्मेवारी पाउँदा देखिने चर्चा गर्दै गणेशमान सिंह विभिन्न राजनीतिक आन्दोलनको कुशल नेतृत्वकर्ता हुनुहुन्थ्यो भन्नुभयो ।

नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले नेताको चरित्र कस्तो हुनुपर्छ भनेर गणेशमान सिंहबाट सिक्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र स्वतन्त्रताका पक्षमा योगदान गरेबापत प्राध्यापक कपिल श्रेष्ठलाई ‘जनआन्दोलन स्वर्णपदक’बाट सम्मान गरिएको छ । रासस

TOP