

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुका लागि उत्पादन, रोजगारी, उद्यमशीलता र सम्भावनाको क्षेत्रमा ध्यान दिँदै छलफल बहसमार्फत समृद्धिको राजनीतिमा लाग्नु पर्ने बताउनु भएको छ ।
नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘कांग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना’ विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री थापाले हरेक छलफलको टिपोट गरी स्थानीय सरकारसम्म कार्यान्वयनका लागि जोड दिने बताउनुभयो ।
महामन्त्री थापाले बजार अनुकुलको शिक्षा र ज्ञान अभिवृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिँदै नयाँ पुस्तामा समस्या सृजना गर्नेभन्दा समाधान गर्नसक्ने ज्ञान र सीपको विकास गर्नुपर्ने बताउनुभयो ।
काँग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठले मुलुकको आवश्यकता र विश्वव्यापी परिवर्तनअनुसार जनशक्ति तयार गर्न शिक्षामा आमूल परिवर्तन ल्याउनुपर्ने भन्दै पुरानो शिक्षा नीतिले समस्या ल्याएको बताउनुभयो । उहाँले सातै प्रदेशमा रोजगारीको सृजना गर्नेगरी औद्योगिक विकास गर्दै नेपालको सम्भावनाअनुसार नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ, उदयशम्शेर राणा, आर्थिक नीति तथा योजना विभाग प्रमुख डा गोविन्दराज पोखरेल, स्वतन्त्र उद्यमीहरुको संस्था उद्यमशील कांग्रेसका अध्यक्ष अस्मिन सिटौला लगाएतले युवा केन्द्रित आर्थिक नीतिका बारेमा धारणा राख्नुहुँदै राज्य अभिभावक बनेर उद्यमशीलतालाइ प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया