logo
शनिबार, २८ भाद्र २०८२

कांग्रेस केन्द्रीय समिति बैठक जारी, विभिन्न १३ एजेन्डामा छलफल

कांग्रेस केन्द्रीय समिति बैठक जारी, विभिन्न १३ एजेन्डामा छलफल

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज सोमवार सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेको छ ।

केन्द्रीय कार्यसमितिको सोमवारको बैठकमा १०० दिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन र प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र बिस्तार सम्बन्धमा केन्द्रीय सदस्यहरुले धारणा राख्नुभएको छ ।

यस्तै, शुभेच्छुक संस्थाबारे छलफल, कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा र संसद् तथा सरकारमा पार्टीको भूमिकाको प्रभावकारिता, समसामयिक विषयलगायत विविध एजेन्डामा छलफल जारी रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उक्त बैठकमा पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको निर्देशिका संशोधनसम्बन्धी प्रस्ताव र प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

पार्टीको बैठकमा महामन्त्री गगनकुमार थापाले बैठकका एजेण्डा प्रस्तुत गर्नुका साथै क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण सम्बन्धमा बैठकलाई जानकारी गराउनुभएको थियो ।

साथै उहाँले केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय सम्बन्धमा र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन तथा बिस्तार सम्बन्धमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु डा शेखर कोइराला, बलबहादुर केसी, कृष्णचन्द्र नेपाली पोखरेल, पुष्पा भुसाल, डा गोपाल दहित, योगेन्द्र चौधरी, नैनसिह महर, मदनकृष्ण श्रेष्ठ र भरतकुमार शाहले पाटीको संगठन, कार्ययोजना लगायतका विषयमा धारणा राख्नुभएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत विभिन्न प्रस्तावमा धारणा राख्ने क्रम जारी रहेकाले बैठक मङ्गलबार बिहान ११ बजे पुनः बस्ने बताइएको छ ।

ताजा अपडेट
TOP