logo
बुधबार, २५ असार २०८२

‘नागरिकलाई सहज र सुरक्षित यातायात सेवा उपलब्ध गराउनु पर्छ’

‘नागरिकलाई सहज र सुरक्षित यातायात सेवा उपलब्ध गराउनु पर्छ’

ललितपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आइतवार आयोजित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन समारोहमा सभापति देउवाले व्यावसायिक हक-हितको संरक्षणसँगै आम नागरिकलाई भरपर्दो यातायात सेवा उपलब्ध गराउनु साझा दायित्व भएको उल्लेख गर्नुभयो ।

दुर्घटना न्यूनीकरणको दिशा र सुरक्षित यात्राको सुनिश्चितताका लागि यातायात व्यवसायीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

यातायात क्षेत्रमा देखिएका विविध समस्याको समाधानतर्फ लोकतान्त्रिक यातायात व्यवसायी सङ्घमा आबद्ध व्यक्तिको एकताबद्ध प्रयास र सहकार्य आवश्यक हुने उहाँले बताउनुभयो ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले विभागहरुको काम पार्टीको क्रियाशीलतासँगै त्यस क्षेत्रमा रहेका समस्याबारेमा पैरवी गर्ने रहेको उल्लेख गर्दै पार्टीको विज्ञ संस्थाका रुपमा विभिन्न विभागले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

धेरै जसो देशमा सार्वजनिक क्षेत्रमा साझेदारी लगानी भएकाले सफल हुँदै गएको उल्लेख गर्दै महामन्त्री थापाले हाम्रो देशमा पनि सार्वजनिक क्षेत्रमा एकल निजी लगानीलाई भन्दा साझेदारी लगानीलाई प्रोत्साहित गरेर व्यवस्थापन गर्न जोड दिनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

महामन्त्री थापाले नाफामा केन्द्रित हुने निजी क्षेत्रको चरित्र अनिवार्य भएको भन्दै यातायात क्षेत्रलाई नाफामुखीभन्दा सेवामुखी, प्रविधिमैत्री र व्यवस्थित बनाउन थप काम गर्न पार्टी तत्पर रहने बताउनुभयो ।

पार्टी केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले यातायात क्षेत्रमा विगतमा आफूले विभिन्न अवरोध झेल्दै नेतृत्वदायी भूमिका खेलेको जिकिर गर्दै सबै किसिमको व्यवस्थापन गरी व्यवस्थित प्रबन्धका साथ यातायात व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।

पार्टी केन्द्रीय सदस्य एवम् सार्वजनिक यातायात समन्वय विभाग प्रमुख शिवप्रसाद हुमागाईंले पार्टीको संरचनाभित्र रहेको लोकतान्त्रिक यातायात व्यवसायी सङ्घलाई प्रदेश र जिल्ला तहमा समेटिएको बताउनुभयो ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट र नेपाल यातायात मजदुर सङ्घका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले यातायात व्यवसायलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।

TOP