

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग सैन्य खर्च कटौती विषयमा वार्ता गर्न चाहेको टिप्पणी गर्नुभएपछि बेइजिङले शुक्रबार अमेरिकाले यस कार्यमा नेतृत्व लिनुपर्ने बताएको छ ।
विश्वव्यापी शान्ति निर्माताका रूपमा आफ्नो दोस्रो कार्यकालमा आफूलाई प्रस्तुत गर्नुभएका ट्रम्पले आफ्ना समकक्षी भ्लादिमिर पुटिन र सी जिनपिङसँग ‘परिस्थिति शान्त हुँदा’ शिखर सम्मेलन गर्न चाहेको बताउनुभयो ।
“म भन्न चाहन्छु, हाम्रो सैन्य बजेट आधा कटौती गरौँ”, उहाँले बिहीबार ओभल कार्यालयमा पत्रकारहरूलाई भन्नुभयो । शुक्रबार यो प्रस्तावबारे सोधिएको प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयले अमेरिकासँग विश्वको सबैभन्दा ठूलो सैन्य बजेट रहेको बताएको छ ।
“संयुक्त राज्य अमेरिकाले ‘अमेरिका फ्रस्ट’ का लागि आह्वान गरेदेखि उनीहरूले सैन्य खर्च कटौतीको उदाहरण स्थापित गर्न नेतृत्व लिनुपर्छ”, विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित समाचार ब्रिफिङमा भन्नुभयो ।
ट्रम्पले बिहीबार तीन शक्तिलाई आफ्नो आणविक हतियारको भण्डार कटौती गर्न पनि आह्वान गर्नुभयो तर गुओले वासिङ्टन र मस्कोसँग सबैभन्दा धेरै आणविक हतियार भएका देशका रूपमा ‘आणविक निःशस्त्रीकरणको विशेष र प्राथमिक जिम्मेवारी’ रहेको बताउनुभयो ।
“चीन सधैँ आफ्नो आणविक शक्तिलाई राष्ट्रिय सुरक्षाका लागि आवश्यक न्यूनतम स्तरमा कायम राख्छ र कुनै पनि देशसँग हतियार दौडमा संलग्न हुँदैन”, गुओले भन्नुभयो । रासस/एएफपी
प्रतिक्रिया