logo
३० माघ २०८१, बुधबार

अमेरिकाले निष्कासित भारतीय आप्रवासीलाई फिर्ता गर्‍यो

अमेरिकाले निष्कासित भारतीय आप्रवासीलाई फिर्ता गर्‍यो

अमृतसर । संयुक्त राज्य अमेरिकाबाट निष्कासित सयभन्दा बढी भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान बुधबार भारत आइपुगेको स्थानीय मिडियाले जनाएको छ ।

ट्रम्पको जनवरी २० को उद्घाटनपछि हजारौँ कागजातविहीन आप्रवासीहरू पक्राउ परेका छन् । तिनमा केही अपराधका आरोपीहरू पनि छन् ।

उत्तरी सहर अमृतसरका एएफपी फोटोग्राफरले अमेरिकी सैन्य विमान अवतरण गरेको देखेका थिए र भारतीय मिडियाले रिपोर्ट गरेअनुसार यसमा १०४ जना भारतीय आप्रवासी थिए ।

ट्रम्पको आप्रवासन सुधारसम्बन्धी कार्यकारी आदेशहरूले १ करोड १० लाख कागजातविहीन आप्रवासीलाई प्रभाव पार्ने अनुमान गरिएको छ ।

नयाँदिल्ली र वासिङ्टन दुवैले निर्वासनका बारेमा विशेष टिप्पणी गरेका छैनन् । तर भारतमा रहेको अमेरिकी दूतावासका प्रवक्ताले वासिङ्टनले ‘आफ्नो सीमालाई कडाइका साथ लागु गरिरहेको, आप्रवासन कानूनलाई कडा बनाएको र अवैध आप्रवासीहरूलाई हटाएको’ बताउनुभयो ।

भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो र विश्वकै उच्च कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि दर छ तर पनि लाखौँ नागरिक विदेशमा राम्रो अवसरको खोजीमा हरेक वर्ष देश छोड्छन् । यसको प्रवासी समुदाय विश्वभर फैलिएको छ तर अमेरिका अझै पनि रोजाइको गन्तव्य हो ।

अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइसिई) को तथ्याङ्क अनुसार सन् २०१८-२०२३ को बीचमा ५ हजारभन्दा बढी भारतीयलाई देशबाट निर्वासित गरिएको थियो ।

अमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सन् २०१७ देखि २०२१ सम्म ट्रम्प ह्वाइट हाउसमा हुँदा न्यानो सम्बन्ध थियो । आलोचकहरूले उहाँहरू दुवैलाई अधिनायकवादी प्रवृत्तिको आरोप लगाउँछन् ।

मोदीले अर्को हप्ता वासिङ्टन भ्रमण गर्ने सम्भावना रहेको र त्यहाँ उहाँले ट्रम्पलाई भेट्ने अपेक्षा गरिएको भारतीय मिडियाले व्यापक रूपमा रिपोर्ट गरेका छन् । रासस/एएफपी

TOP