logo
३० माघ २०८१, बुधबार

ट्रम्पले क्यानाडा, मेक्सिको र चीनमाथिको भन्सार महसुल बढाउँदै

ट्रम्पले क्यानाडा, मेक्सिको र चीनमाथिको भन्सार महसुल बढाउँदै

भर्जिनिया । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका तीन सबैभन्दा ठूला व्यापारिक साझेदार क्यानाडा, मेक्सिको र चीनमाथि व्यापक भन्सार महसुल लगाउने समयसीमा २४ घन्टाभन्दा कम समय बाँकी रहँदा विश्व अर्थतन्त्र यसको प्रभावको लागि तयार हुँदैछ ।

यस महिना पदभार ग्रहण गरेको केही समयपछि ट्रम्पले छिमेकी क्यानाडा र मेक्सिकोले अमेरिकी सीमा पार गर्ने अवैध आप्रवासीहरू र घातक फेन्टानलको प्रवाहमाथि कडा कारबाही नगरे फेब्रुअरी १ मा ती मुलुकमा २५ प्रतिशत कर लगाउने योजना बनाएको बताउनुभयो । उहाँले फेन्टानलकै कारण शनिबारदेखि नै चिनियाँ वस्तुहरूमा थप १० प्रतिशत शुल्क लगाउने विचार गरिरहेको पनि बताउनुभयो ।

बिहीबार उहाँले तीनवटै देशमा कर लगाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याउनुभयो । त्यसदिन पछि उहाँले ब्रिक्स राष्ट्रहरूले अमेरिकी डलरको प्रतिस्पर्धी मुद्रा सिर्जना गरे सतप्रतिशत शुल्क लगाउने धम्की दिनुभयो । ब्रिक्स राष्ट्रमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् ।

बेइजिङले यस घातक व्यापारमा आफ्नो संलग्नताको दाबीलाई पहिले नै खारेज गरेको छ । त्यस्तै क्यानाडाले संयुक्त राज्य अमेरिका प्रवेश गर्ने कागजातविहीन आप्रवासीहरू र फेन्टानलको एक प्रतिशतभन्दा कम मात्र उत्तरी सीमा हुँदै आउने भन्दै प्रतिवाद गरेको छ ।

जेपी मोर्गनका विश्लेषकहरू भन्सार महसुलको प्रतिज्ञा संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाबीच व्यापार सम्झौताको पुनर्वार्ता गतिशील बनाउन ‘सौदाबाजीको साधन’ हो भन्ने विश्वास गर्छन् ।

जेपी मोर्गनका अनुसार ट्रम्पको पहिलो कार्यकालबाट एउटा पाठ के थियो भने नीति परिवर्तनहरू छोटो सूचनामा घोषणा वा धम्की दिन सकिन्थ्यो ।अमेरिकी व्यवसायहरूले विदेशबाट खरिद गर्दा सरकारलाई शुल्क तिर्छन् र आर्थिक भार आयातकर्ता, विदेशी आपूर्तिकर्ता वा उपभोक्ताहरूमा पर्न सक्छ ।

कर्नेल विश्वविद्यालयका सहायक प्राध्यापक वेन्डोङ झाङले क्यानाडा र मेक्सिकोले सबैभन्दा बढी २५ प्रतिशतभन्दा कम अमेरिकी कर र दुवै देशबाट समानुपातिक प्रतिशोधको सामना गर्नुपर्ने बताउनुभयो ।

अक्सफोर्ड इकोनोमिक्सका टोनी स्टिलोका अनुसार व्यापक अमेरिकी भन्सार महसुल र ओटावाको समान प्रतिक्रियाले क्यानाडालाई यस वर्ष मन्दीमा पुर्‍याउन सक्छ र संयुक्त राज्य अमेरिकाले पनि हल्का मन्दीको जोखिम मोल्न सक्छ ।

मेक्सिकोले पनि यस्तै अवस्थाको सामना गर्नसक्ने अक्सफोर्ड इकोनोमिक्सका टिम हन्टरले बताउनुभयो । क्यानाडा र मेक्सिकोमा लगाइएको करमा कच्चा तेल आयातलाई समावेश गर्ने कि नगर्ने भनेर बिहीबार निर्णय गर्ने अपेक्षा गरिएको भन्दै ट्रम्पले त्यहाँ अपवाद हुन सक्छ कि भनेर स्पष्ट नभएको उहाँले बताउनुभयो ।

क्यानाडा र मेक्सिकोले अमेरिकी कच्चा तेल आयातको ७० प्रतिशतभन्दा बढी आपूर्ति गर्दछन् । यसमा करिब ६० प्रतिशत अमेरिकी आयात क्यानाडाबाट मात्रै हुने गरेको कङ्ग्रेसनल रिसर्च सर्भिसको प्रतिवेदनले जनाएको छ ।

यस हप्ता क्यानाडाका अधिकारीहरूले ओटावाले अमेरिकी शुल्क लागू भएमा कामदार र व्यवसायहरूलाई महामारी–स्तरको वित्तीय सहयोग प्रदान गर्ने बताएका थिए ।

यस सम्बन्धमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बुधबार ओटावाले भन्सार महसुल रोक्न काम गरिरहेको र कडा प्रतिक्रिया दिन तयार रहेको बताउनुभएको थियो ।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले  पनि आफ्नो देश भन्सार महसुलबाट बच्न सक्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । रासस/एपी

TOP