

कायरो । प्यालेष्टिनी इस्लामी समूह (हमास) को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ ।
यससँगै सम्झौताको मध्यस्थकर्ता अमेरिका, कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन सुरू भएको पुष्टि गरेका छन् । स्थानीय समयअनुसार ८:३० मा सुरु हुने भनिएको युद्धविराम तोकिएको समयभन्दा दुई घण्टा ४५ मिनेट ढिलो अर्थात् इजरायली समय अनुसार ११:१५ बजेदेखि शुरू भएको इजरायलले पुष्टि गरेको छ ।
“सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज (आइतबार) निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ,” बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यसमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ ।
यसअघि, इजरायलले स्थानीय समयअनुसार ८:३० मा सुरु हुने भनिएको युद्धविराम रिहा हुनेहरूको सूची इजरायलल प्राप्त नगरेसम्म सुरु नहुने बताउँदै गाजाका विभिन्न भागमा चेतावनीवरूप कारबाही जारी गरेको थियो ।
यसैबीच हमास नेतृत्वको ‘सिभिल डिफेन्स एजेन्सी’ले आइतवार बिहानबाट युद्ध विराम सुरु हुने भनिएको समययता इजरायली हवाई आक्रमणमा दशजना मारिएको बताएका छन्।
उक्त निकायका प्रवक्ता मोहमद बासालका अनुसार छ जना गाजामा मारिएका थिए भने तीन जना उत्तरमा र एक जना रफाहमा मारिनुका साथै विभिन्न स्थानमा गरी थप २५ जना घाइते भएका छन् ।
यसअघि, इजरायली सेनाले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशन भन्दै युद्धविराम सुरु नभएसम्म गाजामा सैन्य कारबाही जारी राख्ने बताएको थियो ।
प्रधानमन्त्री नेतन्याहुले आइतवार रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम हमासले सार्वजनिक नगरेसम्म युद्धविराम सुरु नगर्न देशको सेनालाई आदेश दिनुभएको थियो । रासस/एएफपी
प्रतिक्रिया