logo
३० माघ २०८१, बुधबार

पाकिस्तानका पूर्वप्रम इमरानलाई १४ वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रम इमरानलाई १४ वर्षको जेल सजाय

रावलपिण्डी । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । सो फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।

न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भन्नुभयो, “अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खानदोषी ठहरिएका छन् ।” पूर्व प्रम खानकी पत्नी बीबीलाई पनि ७ वर्षको जेल सजाय सुनाइएको छ ।

भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो । उनीहरूले मिलेर स्थापना गरेको अल-कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ ।

पूर्व प्रधानमन्त्री खान सन् २०२३ को अगष्टदेखि जेलमा हुनुहुन्छ र उहाँमाथि करिब २ सय वटा मुद्दा लगाइएका छन् । ती मुद्दा उहाँलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दावी खानले गर्नुभएको छ ।

पूर्व प्रम खानकी पत्नी बुशरा बीबी हालसालै जेलबाट रिहा हुनुभएको थियो भने उहाँलाई फैसलापछि शुक्रबार अदालतबाटै पक्राउ गरिएको छ । शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन उहाँ खानलाई राखिएको जेलमा उपस्थित हुनुभएको थियो । रासस/एएफपी

TOP