logo
२४ माघ २०८१, बिहीबार

गाजा युद्धविराम सम्झौता भए ३३ जना बन्धक मुक्त हुने 

गाजा युद्धविराम सम्झौता भए ३३ जना बन्धक मुक्त हुने 

जेरुसेलम । कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतहरू र इजरायली मिडियाले मङ्गलबार बताएका छन् ।

मध्यस्थकर्ताहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले हालैका दिनहरूमा सम्झौता गर्ने प्रयासहरू तीव्र पारेका छन् र वार्ताबारे जानकार एक स्रोतले मङ्गलबार एएफपीलाई दोहामा ‘अन्तिम चरणको वार्ता’ सुरु हुने बताएको थियो ।

वार्तासँग सम्बन्धित दुई स्रोतले नाम नखुलाउने सर्तमा एएफपीलाई प्रारम्भिक आदान-प्रदानमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा ३३ बन्धक रिहा गरिने बताए ।

यी बन्धकहरू सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि गाजा पट्टीमा बन्दी बनाइएका ९४ जनामध्येका हुन् । यो सङ्ख्यामा इजरायली सेनाले मृत भनेका ३४ जना बन्दी समावेश छन् ।

टाइम्स अफ इजरायल समाचार वेबसाइटले वार्तासँग परिचित इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै ‘सम्झौताको पहिलो चरणमा ३३ वटा मानवीय मामिला समावेश छन्’ भनी रिपोर्ट गरेको छ ।

वार्तासँग सम्बन्धित दुई स्रोतमध्ये एकका अनुसार सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धकलाई समूहमा रिहा गर्ने व्यवस्था छ, जसमा पहिले बालबालिका र महिलाहरूलाई रिहा गरिनेछ ।

टाइम्स अफ इजरायलको रिपोर्टअनुसार इजरायली अधिकारीहरूले प्रस्तावित प्रारम्भिक आदान-प्रदानमा समावेश ३३ जना बन्धक जीवित रहेको विश्वास गरेका छन् ।

गत हप्ता हमासले बहु-चरण सम्झौताको पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमत भएको सङ्केत गरेको थियो ।

इजरायली मिडियाले मङ्गलबार प्रस्तावित सम्झौताअन्तर्गत पहिलो चरणको कार्यान्वयनका क्रममा इजरायललाई गाजाभित्र बफर जोन कायम राख्न अनुमति दिइने पनि बताएको छ ।रासस/एएफपी

ताजा अपडेट
TOP