logo
१० माघ २०८१, बिहीबार

अमेरिकी कूटनीतिज्ञले सिरियाली नयाँ नेतृत्वलाई भेट गर्दै 

 

दमास्कस । सिरियाका नयाँ इस्लामवादी नेतृत्वको शासकलाई भेट्न अमेरिकी कूटनीतिज्ञहरू सिरियामा पुगेको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।

सिरियाका पूर्व शासक बशर अल असदलाई सत्ताच्यूत गरेपछि दशकौँदेखिको दुव्र्यवहार र वर्षौंदेखिको सिरियाली गृहयुद्ध अन्त्य भएको छ तर यसले अल्पसङ्ख्यकका साथै महिलाको अधिकार र अर्धस्वायत्त कुर्द क्षेत्रको भविष्यबारे चिन्ता बढाएको छ ।

अहिले दमास्कसमा सयौँले लोकतन्त्र र महिला अधिकारको माग गरेका छन् । उत्तरपूर्वी सिरियाको कामिश्लीमा टर्की र उसका सहयोगी विद्रोही लडाकुको दबाबमा रहेको अमेरिकी समर्थित कुर्द नेतृत्वको सेनाको समर्थनमा हजारौं जनाले प्रदर्शन गरेका छन् ।

अलकायदाको सिरिया शाखामा जरा गाडेको हयात तहरीर अल-शाम (एचटीएस) ले असदलाई देश छोड्न बाध्य पार्ने आक्रामक आक्रमणको नेतृत्व गरेको थियो ।

राजधानीमा एचटीएसको अचानक आगमनले विदेशी सरकारहरू सिरियासँगको नयाँ नीतिबारे अलमलमा परेका छन् । केही देशहरूमा एचटीएसलाई आतङ्कवादी समूह घोषित गरिएको छ ।

सन् २०११ मा असदले सरकार विरोधी प्रदर्शनमा कडाइ गरेपछि सुरु भएको गृहयुद्धको सुरुवाती दिनदेखि नै अमेरिकी कूटनीतिज्ञहरू औपचारिक अभियानसहित दमास्कस गएका छैनन् ।

उनीहरूले वासिङ्टनले आतङ्कवादी समूह घोषणा गरेको एचटीएसका प्रतिनिधिका साथै अधिकारकर्मी, अल्पसङ्ख्यक समूह र नागरिक समाजका प्रतिनिधिसँग भेटवार्ता गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सिरियाली नागरिकसँग आफ्नो देशको भविष्यका लागि उनीहरूको दृष्टिकोण र अमेरिकाले उनीहरूलाई कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा कुराकानी गर्ने बताएका छन् ।

उक्त प्रतिनिधिमण्डलमा सन् २०१२ को अगष्टमा सिरियामा अपहरणमा परेका पत्रकार अस्टिन टाइसलगायत हराएका अमेरिकी नागरिकबारे सुराकी खोजिरहेका अमेरिकी नागरिक पनि रहेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियाका छिमेकीको भ्रमणका क्रममा अमेरिका एचटीएससँग प्रत्यक्ष सम्पर्कमा रहेको बताएको एक सातापछि यो भ्रमण हुन लागेको हो । रासस/एएफपी

TOP