logo
४ माघ २०८१, शुक्रबार

बेलायतको ब्रेक्जिट र ब्लकका वारेमा इयुको अदालत जाने तयारी

बेलायतको ब्रेक्जिट र ब्लकका वारेमा इयुको अदालत जाने तयारी

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) ले सोमबार ब्रेक्जिटपछि ब्लकका नागरिक र उनीहरूका परिवारका सदस्यहरूको स्वतन्त्र आवागमनमा नियमहरू उल्लङ्घन गरेकामा बेलायतलाई युरोपेली अदालतमा लैजाने बताएको छ ।

युरोपेली आयोगले सन् २०२० को अन्त्यमा बेलायतले सन्धिहरू कार्यान्वयन गर्दा ‘धेरै कमजोरी थिए’ भन्ने विश्वास गरेको बताएको छ । “युरोपेली आयोगले सन् २०२० को अन्त्यमा इयुका नागरिक र उनीहरूका परिवारका सदस्यहरूको स्वतन्त्र आवागमनमा इयु कानूनको पालना गर्न असफल भएकामा संयुक्त अधिराज्यलाई इयुको अदालतमा पठाउने निर्णय गरेको छ”, आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस वर्ष निर्वाचित लेबर सरकारले अघिल्लो कन्जर्भेटिभ प्रशासनअन्तर्गत वर्षौंको ब्रेक्सिटपछिको द्वेषपछि ब्रसेल्ससँगको सम्बन्ध ‘पुनःस्थापित’ गर्न खोजिरहेको बेला कानूनी कारबाही आएको हो ।

बेलायती प्रधानमन्त्री किर स्टारमरले अक्टोबरमा ब्रसेल्समा आयोगका प्रमुख उर्सुला भोन डेर लेयनसँग वार्ता गर्नुभएको थियो भने यस महिना वित्तमन्त्री रेचल रिभ्सले ब्रेक्जिटपछि पहिलो पटक युरोजोन समकक्षीहरूको बैठकमा सहभागिता जनाउनुभयो ।

इयुले बेलायतलाई औपचारिक सूचना पत्र पठाएर राष्ट्रिय कानूनले इयु स्वतन्त्र आवागमन कानूनका लाभार्थीहरूको दायरा सीमित गरेको गुनासो गरेपछि यो मुद्दा सन् २०२० मे महिनामा सुरु भएको थियो ।

लन्डनसँग पत्राचार भए पनि आयोगले कामदारहरूको अधिकार र विस्तारित परिवारका सदस्यहरूको अधिकारसहित गुनासोका धेरै तत्वहरू सम्बोधन हुन बाँकी रहेको भन्दै यसले कानूनी कारबाही आवश्यक बनाएको बताएको छ ।

बेलायत औपचारिक रूपमा सन् २०२० जनवरी ३१ मा इयुबाट बाहिरिएको थियो । तर ‘फिर्ता सम्झौता’ अन्तर्गत सन् २०२० को अन्त्यअघि बेलायत सरेका युरोपेली नागरिक र उनीहरूका परिवारका सदस्यहरूलाई ब्रेक्जिटअघि व्यापक रूपमा समान अधिकारहरू प्रदान गरिएको थियो ।

ताजा अपडेट
TOP