logo
७ माघ २०८१, सोमबार

विदेशमा रहेका सिरियाली नागरिकलाई स्वदेश फर्कन आग्रह

विदेशमा रहेका सिरियाली नागरिकलाई स्वदेश फर्कन आग्रह

रोम । लामो समयदेखि राष्ट्रपति रहँदै आएका सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि प्रधानमन्त्री बन्नुभएका नयाँ सङ्क्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आह्वान गर्नुभएको छ ।

विद्रोही समूहहरूले मार्चसम्म देश सञ्चालनका लागि सङ्क्रमणकालीन सरकार प्रमुखको रूपमा नियुक्त गरेका मोहम्मद अल-बशीरले इटालीको कोरिएरे डेला सेरा दैनिकसँगको कुराकानीमा भन्नुभयो, “उहाँको पहिलो लक्ष्य ‘विदेशमा रहेका लाखौं सिरियाली शरणार्थीहरूलाई फिर्ता ल्याउनु’ हो ।

विदेशमा रहेका नागरिकको मानव पूँजी र अनुभवले देशलाई आर्थिक रूपमा फस्टाउन सहयोग गर्ने भन्दै आफ्नो पहिलो काम विदेशमा रहेका सिरियाली नागरिकलाई स्वदेश फिर्ता गर्नु रहेको उहाँले बताउनुभयो ।

अल–बशीरले भन्नुभयो, “मेरो विदेशस्थित सबै सिरियालीहरूलाई एउटा अपील छ: सिरिया अब एक स्वतन्त्र देश हो जसले आफ्नो गर्व र प्रतिष्ठा कमाएको छ। फर्किनुहोस्, हामीले पुनर्निर्माण गर्नुपर्छ, पुनर्जन्म लिनुपर्छ र हामीलाई सबैको सहयोग चाहिन्छ।”

इस्लामिक नेतृत्वको विपक्षी गठबन्धनले सिरियाको राजधानी दमास्कसमा पाँच दशक लामो क्रूर शासनको अन्त्य गरेपछि असद सिरियाबाट भाग्नुभएको थियो । सिरियामा करिब १४ वर्ष लामो गृहयुद्धमा परी पाँच लाख मानिसको मृत्यु हुनुका साथै करिब आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित बनेका थिए ।

इसाई, कुर्द र अलावीलगायत देशका विविध समुदायहरू अब बशीरले कस्तो सरकारको नेतृत्व गर्छन् भनेर पर्खिरहेका छन् । निवर्तमान् राष्ट्रपति असद स्वयं अल्पसङ्ख्यक अलावी सम्प्रदायका थिए र उनले आफूलाई अल्पसङ्ख्यकहरूको संरक्षकको रूपमा स्थापित गरेका थिए । रासस/एएफपी

ताजा अपडेट
TOP