दमास्कस । सिरियामा राष्ट्रपति बशर अल-असदलाई अपदस्थ गरी अहिले सत्तामा रहेका विद्रोहीहरूले मार्च १ सम्म देश चलाउनका लागि मङ्गलबार सङ्क्रमणकालीन सरकार प्रमुख नियुक्त गरेका छन् ।
“सामान्य कमान्डले हामीलाई मार्च १ सम्म सङ्क्रमणकालीन सरकार चलाउने जिम्मा दिएको छ”, सरकारी टेलिभिजनको टेलिग्राम अकाउन्टमा मोहम्मद अल-बशिरको नाममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । उहाँलाई ‘नयाँ सिरियाली प्रधानमन्त्री’ का रूपमा सम्बोधन गरिएको छ ।
इस्लामिक नेतृत्वको विद्रोही गठबन्धनले आफ्नो वंशको पाँच दशक लामो क्रूर शासनको अन्त्य गर्दै आइतबार राजधानी दमास्कसमा प्रवेश गरेपछि असद सिरियाबाट भाग्नुभएको थियो ।
असदलाई जबरजस्ती बाहिर निकाल्ने आक्रमणको नेतृत्व गर्ने इस्लामिक नेता अबु मोहम्मद अल-जोलानीले सत्ता हस्तान्तरणका लागि वार्ता सुरु गर्नुभएको छ र यातना तथा युद्ध अपराधका लागि जिम्मेवार पूर्व वरिष्ठ अधिकारीहरूलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अल-जोलानीको समूह हयात ताहरिर अल-शाम सिरियाको अल-कायदा शाखामा निहित छ र यसलाई धेरै पश्चिमी सरकारहरूले आतङ्कवादी सङ्गठनको रूपमा प्रतिबन्धित गरेका छन् । यद्यपि यसले आफ्नो बयानबाजीलाई मध्यम बनाउन खोजेको छ ।
सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका दूतले असदलाई भाग्न बाध्य पार्ने समूहहरूले आफ्नो ‘असल सन्देश’ लाई स्थलगत कार्यमा परिणत गर्नुपर्ने बताउनुभयो । “उनीहरूले एकता, समावेशीकरणको सन्देश पठाउँदै आएका छन्, हामीले अलेप्पो र हामामा पनि… आश्वासन दिने कुराहरू देखेका छौँ”, जिर पेडरसनले भन्नुभयो ।
सिरियालीहरूलाई बाथ पार्टी लाइनबाट विचलित हुनबाट रोक्नका लागि जेल र हिरासत केन्द्रहरूको जटिल जाल कायम गर्ने असदको पतनले देशभरि र विश्वभरका डायस्पोरामा उत्सव र खुशीको लहर ल्याएको छ ।
गृहयुद्धले गर्दा पाँच लाख मानिस मारिए र देशको आधा जनसङ्ख्यालाई आफ्नो घर छोड्न बाध्य बनायो । तीमध्ये लाखौँले विदेशमा शरण लिए । दैनिक जीवनको हरेक पक्ष चलाएको सरकारको पतनपछि देशले अहिले गहिरो अनिश्चितताको सामना गरिरहेको छ ।
अहिले आफ्नो वास्तविक नाम अहमद अल-सारा प्रयोग गर्ने जोलानीले वाचा गर्नुभयो, “सिरियाली जनतालाई यातना दिन संलग्न अपराधी, हत्यारा, सुरक्षा र सेनाका अधिकारीहरूलाई जवाफदेही बनाउन हामी हिचकिचाउने छैनौँ ।”
टेलिग्राममा एक विज्ञप्तिअनुसार जोलानीले सोमबार बिदाइ हुने प्रधानमन्त्री मोहम्मद अल-जलालीसँग सिरियाका जनतालाई ‘सेवाहरूको प्रावधानको ग्यारेन्टी गर्ने शक्तिको हस्तान्तरण समन्वय गर्न’ वार्ता गर्नुभएको थियो । रासस/एएफपी
प्रतिक्रिया