

फ्रेङ्कफर्ट-जर्मनी । जर्मनीका अर्थमन्त्री रोबर्ट हाबेकले मङ्गलबार अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले युरोपको निर्यातमा ठूलो शुल्क लगाउन सक्ने सम्भावनामा युरोपले तयारी गर्नुपर्ने र त्यस्ता कदमहरूको सामना गर्न एकजुट हुनुपर्ने बताउनुभएको छ ।
आफ्नो कार्यकालको पहिलो दिन नै मेक्सिको, क्यानाडा र चीनबाट आउने सामानमा व्यापक शुल्क लगाउने ट्रम्पको योजना रहेको भन्दै उहाँको यस्तो टिप्पणी आएको हो ।
“युरोप वा जर्मनीमा पनि यस्तै केही हुनसक्छ भन्ने तथ्यका लागि हामी तयार हुनुपर्छ”, जर्मनीका भाइस चान्सलरसमेत रहनुभएका हाबेकले बर्लिनमा व्यापार सम्मेलनमा भन्नुभयो ।
चुनावी अभियानमा ट्रम्पले विश्वभरका वस्तुहरूमा उच्च शुल्क लगाउने धम्की दिनुभएको थियो । संयुक्त राज्य अमेरिका युरोपीय महाद्वीपको निर्यातका लागि प्रमुख गन्तव्य भएकाले यसले युरोपमा चिन्ता निम्त्याएको थियो ।
सोमबारको ट्रम्पको घोषणाले उहाँका धम्कीहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने सङ्केत गरेको हाबेकले बताउनुभयो ।
क्यानाडा र मेक्सिकोमा कर लगाउने वाचा गरेर ट्रम्पले वासिङ्टनसँग स्वतन्त्र व्यापार सम्झौता भएका दुई देशलाई लक्षित गरिरहेको उहाँले उल्लेख गर्नुभयो । “जसका आधारमा हामीले आफ्नो आर्थिक, औद्योगिक र विदेश नीतिहरू समायोजित गरेका छौँ, ती नियमहरू बढी कमजोर हुँदैछन् वा तिनीहरूको पालना गरिँदैन”, हाबेकले भन्नुभयो ।
ट्रम्पले विगतमा इयुलाई संयुक्त राज्य अमेरिकासँग ठूलो व्यापार अधिशेषका लागि आलोचना गर्नुभएको थियो । उहाँको पहिलो कार्यकालमा वासिङ्टनले युरोपेली इस्पात र आलुमिनियम निर्यातमा कर लगाउँदा इयुलाई अमेरिकी सामानहरूमा कर लगाउन उत्प्रेरित गरेको थियो । जर्मनीको निर्यातमुखी अर्थतन्त्र नयाँ अमेरिकी शुल्कहरूबाट विशेष रूपमा प्रभावित हुनेछ । त्यसले एक प्रतिशत विकासदर घटाउन सक्ने केन्द्रीय बैंकले हालै चेतावनी दिएको छ । रासस/एएफपी
प्रतिक्रिया