logo
४ माघ २०८१, शुक्रबार

स्कोल्जद्वारा पुटिनसंग युक्रेन युद्दका वारेमा वार्ता गर्न आग्रह

स्कोल्जद्वारा पुटिनसंग युक्रेन युद्दका वारेमा वार्ता गर्न आग्रह

बर्लिन । करिब दुई वर्षपछिको पहिलो फोन वार्तामा जर्मन चान्सलर ओलाफ स्कोल्जले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग शान्ति वार्तामा संलग्न हुन आग्रह गर्नुभएको छ ।

“स्कोल्जले युक्रेनविरुद्धको रुसको आक्रमणको निन्दा गर्नुभयो र राष्ट्रपति पुटिनलाई यसलाई अन्त्य गर्न तथा सेना फिर्ता लिन आह्वान गर्नुभयो”, चान्सलरका प्रवक्ता स्टेफेन हेबेस्ट्रिटले विज्ञप्तिमा भन्नुभयो, “जर्मन नेताले “न्यायपूर्ण र स्थायी शान्ति प्राप्त गर्ने उद्देश्यले युक्रेनसँग वार्ता गर्ने इच्छा देखाउन रुसलाई आग्रह गर्नुभयो ।”

चान्सलर स्कोल्जले रुसी आक्रामकता विरुद्धको लडाइँमा युक्रेनलाई आवश्यक हुँदासम्म समर्थन गर्ने जर्मनीको अटल दृढतालाई पनि जोड दिनुभयो । युद्धको महत्त्वपूर्ण मोडमा यो आह्वान आएको छ ।

युक्रेनी सेनाहरू दबाबमा आइरहेका छन् र संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति पदमा विजयले किएभलाई वासिङ्टनको निरन्तर समर्थनमा शङ्का उत्पन्न गरेको छ ।

स्कोल्ज र पुटिनबीच सन् २०२२ डिसेम्बरपछि पहिलो पटक कुराकानी भएको र कुराकानी एक घन्टासम्म चलेको जर्मन सरकर स्रोतले बताएको छ ।

“स्कोल्जले विशेष गरी युक्रेनमा नागरिक पूर्वाधारमाथि रुसी हवाई हमलाको निन्दा गर्नुभयो”, सरकारी स्रोतले भन्यो, “उहाँले युक्रेनविरुद्ध लडाइँका लागि उत्तर कोरियाली सैनिकहरू रुसमा पठाउँदा द्वन्द्व गम्भीर रूपमा बढ्ने र विस्तार हुने कुरा स्पष्ट पार्नुभयो ।”

क्रेमलिनले कुराकानीको आफ्नो रिडआउटमा दुई नेताहरूले ‘स्पष्ट विचार आदानप्रदान’ गरेको र यो आह्वान जर्मनीले सुरु गरेको बताएको छ । रासस

TOP