logo
सोमबार, ३० भाद्र २०८२

‘सम्बन्धित जिल्लाले नै उम्मेदवार तोक्न पाउँने व्यवस्था हुनुपर्छ’

‘सम्बन्धित जिल्लाले नै उम्मेदवार तोक्न पाउँने व्यवस्था हुनुपर्छ’

 

तुलसीपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  पार्टीको विधान परिवर्तन गरी कुनै पनि उम्मेदवार सम्बन्धित जिल्लाले नै तोक्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल थारु सङघको आइतवार तुलसीपुरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले विधानबमोजिम २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुने बताउनुभएको छ ।

महामन्त्री थापाले २०८४ सालको आम चुनावमा पार्टी एक्लै चुनाव लड्ने बताउनुभयो । विगतजस्तो कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने उहाँको भनाइ थियो ।

“नेता बलियो बनाएर पार्टी बलियो हुन्छ भन्ने होइन, कार्यकर्ता बलियो भएपछि मात्रै पार्टी बलियो हुन्छ”, महामन्त्री थापाले भन्नुभयो । अब दाङका उम्मेदवार दाङकै पार्टीका सदस्यहरुले छान्न पाउने गरी विधान बदल्नु पर्ने बताउनुभयो ।

संवैधानिक राजतन्त्र ल्याउन नसकिने उल्लेख गर्दै महामन्त्री थापाले यो कुरा सबैले बुझ्न आवश्यक रहेको बताउनुभयो । सङ्घीयता, लोकतन्त्र र गणतन्त्रात्मक संविधान बनेकाले यसलाई कार्यान्वयन गरेर जनताको अवस्था बदल्ने कुरामा नै ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

अहिलेको निर्वाचन प्रणालीलाई भने संविधान संशोधनमार्फत समाधान गर्नतर्फ पहल लिनुपर्ने महामन्त्री थापाले बताउनुभयो । सरकारले जनमैत्री काम गरेमा पछिल्लो समय युवापुस्तामा देखिएको असन्तुष्टि पनि हट्ने उहाँको भनाइ थियो ।

ताजा अपडेट
TOP