

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता देखिएको बताउनु भएको छ ।
फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले शनिवार आयोजना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) र नेपाल चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलग’मा उहाँले लगानी सम्भावनालाई सही रूपमा पहिचान गरी बिआरआई अन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
सभामुख घिमिरेले असल मित्र र निकट छिमेकीका रूपमा नेपालले चीनको प्रगतिमा गौरव गर्नुका साथै बृहत् आर्थिक साझेदारीमार्फत चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहेको स्पष्ट पार्नुभयो ।
सभामुख घिमिरेले भन्नुभयो, “नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको दीगोपनाका लागि चीनबाट महत्वपूर्ण सहयोग रहने अपेक्षा गरेका छौँ ।”
नेपाल र चीनको ऐतिहासिक सम्बन्ध आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यमा आधारित रहेको उल्लेख गर्दै सभामुख घिमिरेले बिआरआईमार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको बताउनुभयो । यो पहल नेपालका लागि केबल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोका खोल्ने अवसरका रुपमा लिनुपर्ने उहाँको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई अवधारणा विश्वव्यापी विकास परियोजनाका रुपमा रहेको जनाउँदै पूर्वाधार विकास, सम्पर्क सञ्जाल विस्तारलगायतमा बिआरआईले अभूतपूर्व अवसर प्रस्तुत गर्ने बताउनुभयो ।
नेपालका लागि चिनियाँ राजदूत छन सङले पूर्वाधार, सूचना प्रविधि, औद्योगिकीकरण, नवप्रवर्तन र नवीनतम् ज्ञानको खोज, अनुसन्धानमा गरिरहेको प्रगतिका बारेमा जानकारी दिँदै नेपालको विकास प्रयासमा चीन सदैव सकारात्मक रहेको बताउनुभयो ।
काष्ठमण्डप डायलग अन्तर्गत नेपालमा विआरआई कार्यान्वयनः अवसर र चुनौतीलगायत विषयमा नेपाल र चीनका व्यवसायी, प्राध्यापक लगायतले छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया